प्रचण्ड निवास पुगेका भारतीय विदेश सचिवले के भने ?


prachanda1एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशङ्करबीच भेटवार्ता भएको छ । एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा नेपालको संविधान लेखन प्रक्रियाले पाएको पूर्णता र असन्तुष्ट पक्षलाई सहमतिको प्रक्रियामा ल्याउन भइरहेको प्रयासका बारेमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले प्रमुख राजनीतिक दलको सहमतिमा संविधान लेखन प्रक्रियाले पूर्णता पाएको र सांविधानसभामा कायम सदस्यको दुई तिहाइभन्दा बढी सभासद्ले संविधानलाई पारित गरेको र सभाध्यक्षले प्रमाणितसमेत गरिसक्नुभएको बताउनुभएको थियो । संविधान लेखन प्रक्रियामा ९१ प्रतिशतभन्दा बढीको सहभागिता रहेकाले यो पूर्ण सहमतिको दस्तावेज भएको बताउनुभएको थियो । भेटमा सहभागी एमाओवादीका विदेश विभाग प्रमुखसमेत रहनुभएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखन प्रक्रिया र दुई देशको सम्बन्धका बारेमा छलफल भएको जानकारी दिनुभयो । संविधान लेखन प्रक्रियामा असन्तुष्ट रहेका दललाई सहमतिमा ल्याउन प्रयत्न जारी रहेको र संशोधनलगायतका प्रक्रियाबाट पनि संशोधन गर्न सकिने एमाओवादी शीर्ष नेतृत्वको धारणा रहेको थियो । भारतीय विदेश सचिव जयशङ्करले सबै पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्न सकेको भए उपयुक्त हुने भारतको शुभेच्छा रहे पनि नेपालको निर्णय गर्न नेपालका राजनीतिक दल स्वतन्त्र रहेको विचार राख्नुभएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । संविधान निर्माण प्रक्रिया एउटा चरणमा पुगेको भन्दै भारतीय पक्षले खुसी व्यक्त गरेको समेत उहाँको भनाइ थियो । संविधान लेखन प्रक्रिया जारी रहँदासमेत वार्ता र संवादको प्रक्रिया जारी राखेको र आज पनि मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)सँग वार्ता भएको भन्दै असन्तुष्ट पक्षलाई मिलाएर लैजान प्रयत्नशील रहेको एमाओवादी शीर्ष नेतृत्वको धारणा थियो । “संविधान लेखन प्रक्रियालाई सफल पार्नुपर्छ, वार्तामार्फत परिमार्जन र संशोधन गर्न सकिन्छ भन्नेमा हामीले आफ्नो धारणा राख्यौँ, उहाँले सहमति र सहकार्यबाट अगाडि बढ्दा राम्रो हुने तर कुनै निर्णय नेपालका राजनीतिक दलले नै गर्न स्वतन्त्र रहेको भारत सरकारको धारणा रहेको बताउनुभयो”– भेटमा भएको कुराकानी उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । भेटमा अध्यक्ष दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष श्रेष्ठको उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट नेपालका लागि भारतीय राजदूत रणजित रायको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?