देशले संविधान पाएपछि अष्ट्रेलियावासी नेपाली हर्षित, ठाउँ ठाउँमा दिप प्रज्वलन


ashfield2 copy copyनेपालमा संविधानसभामार्फत संविधान घोषणा गरिएपछि यसको खुशीयाली अष्ट्रेलियाका विभिन्न शहरमा मनाइँदैछ । संविधानसभामा राष्ट्रपति डा. रामवरण यादवले हस्ताक्षर गरी संविधान लागू गरेको दृश्य टेलिभिजनमा हेरेका नेपाली समूदायका सदस्यहरु विभिन्न पार्क र खुला स्थानमा भेला भएर आपसमा खुशी साटासाट गरिरहेका छन् । यस्तै देशले संविधान पाएको खुशीयालीमा समूहमा जम्मा भई उनीहरु रमाइलो पनि गरिरहेका छन् । आइतबार साँझ सिड्नीको रकडेल, एसफिल्ड लगायत नेपाली बाहुल्य रहेका क्षेत्रहरुमा सामूहिक दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी भएका अधिकांश सदस्यहरुले नेपालमा अब विकास र निर्माणको काम द्रूत बनोस् भन्ने कामना मात्र गरेनन् देशमा खुशीको यो क्षणमा टाढा रहनुपर्दाको दुख पनि व्यक्त गरेका थिए । रकडेलको एभरेष्ट फंक्सन सेन्टरमा एनआरएनको महासचिव पदमा उम्मेद्वारी घोषणा गर्दै गरेकी वर्तमान सचिव रञ्जु वाग्लेले पनि आफ्नो उम्मेद्वारीसँगै नेपालमा संविधान आएको खुशीयालीमा मैनबत्ती बालेर हर्ष बाँढिन् । कार्यक्रममा उपस्थित एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भने, “देशमा यस्तो महत्वपूर्ण परिवर्तनको यो अवसरमा हामी खुशी व्यक्त गर्दछौं । देशले संविधान पाएको छ । यो सबै नेपालीहरुको निम्ति खुशीको कुरा हो ।”

कार्यक्रममा उपस्थित सबैले मैनबत्ती बालेर संविधानसभा मार्फत देशले संविधान पाएको, एनआरएनको नागरिकताका निरन्तरता सम्बन्धी व्यवस्था यही संविधानमा समेटिएको भन्दै ऐक्यबद्धता जनाएका थिए । एसफिल्ड पार्कमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले सामूहिक रुपमा भेला भई मैनबत्तिको घेराले नेपालको नक्सा बनाई एकअर्कामा खुशीयाली बाँढेका थिए । उनीहरु रमाइरहेको देख्दा अन्य समूदायका व्यक्तिहरुले चासोपूर्ण नजरले हेरेका थिए । एसफिल्ड पार्कमा दिप प्रज्वलन कार्यक्रमको संयोजन गरेका शंकरलाल राजभण्डारीले भने, “एक युगमा एक दिन आउने यस्तो अवसरको बेला यति खुशी भइयो कि के गरौं, कसो गरौं, कसलाई खुशी बाँढौं जस्तो भयो । यसैले हामी अभिभावकहरु यहाँ भेला भएर संविधान आएकोमा एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छौं ।” सहभागीहरुले नेपाली झण्डा लिएर सामूहिक रुपमा दिप प्रज्वलन गरेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल पनि देखिन्थे । एनआरएन आईसीसी सदस्य रमेश पाण्डे पनि संविधान आएकोमा खुशी व्यक्त गर्दछन् । एनआरएन अभियन्ता एवं झापाली समाज अष्ट्रेलियाका संरक्षक भवानी ओलीसहित भेला भएर संविधान प्राप्तिको खुशीलाइृ एकआपसमा बाँढेका छन् ।  उनले भने, “हामीले दशकौंदेखि देखेको सपना पूरा भएको यो दिनलाई सबैले सेलिव्रेट गर्नुपर्दछ भन्ने लाग्यो । देशले निकास पाएको छ । देशले संविधान पाएको छ यो औधी खुशीको कुरा हो ।” पाण्डे त प्रतिनिधि मात्र हुन् यसैगरी सिड्नीमा रहेका अधिकांश नेपाली समूदायका सदस्यहरुले देशले संविधान पाएकोमा खुशी व्यक्त गरेका छन् । यसैबीच नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले आज सोमबार साँझ ग्रानभिलमा दिप प्रज्वलन कार्यक्रम राखेर सबै सिड्नीवासीलाई सहभागी हुन आह्वान गरेको छ । सिड्नीसँगै मेलबर्न, एडिलेड, पर्थ, ब्रिसबेनमा रहेका नेपालीहरुले समेत देशले संविधान पाएकोमा खुशी व्यक्त गर्दै संविधान उत्सव मनाएका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । “संविधान पारित भयो, लागू भयो अब हामी शुभकामना आदान प्रदानका औपचारिक कार्यक्रम आयोजना गर्छौं,” नेपाली समूदायका एक अगुवाले एमएनटीभीलाई भने ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?