अचानक प्रधानमन्त्री पुगे तमलोपा कार्यालय विजुलीबजार
प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो । कहाँ जाने, जानेपूर्वको तयारी लगायत यावत कुरा हुन्छन् । जब यस्तोमा सामान्य मानिसले झैं उच्च ओहोदामा रहेका व्यक्तिले व्यवहार गर्छन् तब धेरै अचम्मित हुने गर्दछन् । यतिबेला वार्ता र सहमतिको निम्ति आह्वान गरिरहेका प्रधानमन्त्री सुशलि कोइरालाले पनि मंगलबार तमलोपा केन्द्रीय कार्यालय पुगेर धेरैलाई चकित पारे । त्यहाँ प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल भयो । तमलोपाको केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले वार्ता र छलफलको माध्यमबाटै सबै समस्या समाधान गर्न सकिने भएकाले वार्तामा आउन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभयो । जवाफमा अध्यक्ष ठाकुर र उक्त पार्टीका अन्य नेताहरूले सरकार र प्रमुख राजनीतिक दलहरूले नै वार्ताको वातावरण बिगारेकाले आन्दोलन छाडेर वार्तामा बस्न आफूहरूलाई अप्ठेरो भएको बताउनुभएको थियो । छलफलमा सहभागी वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यका अनुसार मधेसवादी दलहरूले उठाएका अधिकांश माग संविधानमा सम्बोधन भएको तथा सम्बोधन हुन केही त्यस्ता बुँदाहरू बाँकी रहेका भए वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने तथ्य प्रधानमन्त्रीले अवगत गराउनुभएको थियो । सो पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले तराईमा भएको आन्दोलन राजनीतिक भएको र त्यसलाई सम्बोधन गर्नुको साटो प्रमुख राजनीतिक दलहरूले नै वार्ताको वातावरण बिथोलेको बताउनुभएको थियो । आन्दोलन छोडेर अहिले त्यत्तिकै वार्ताको टेबलमा बस्न आफूहरूलाई अप्ठेरो पर्न जाने उहाँको भनाइ थियो । वार्ताका लागि छलफललाई भने निरन्तरता दिँदै जाने सहमति प्रधानमन्त्री कोइरालासँग भएको उहाँले जानकारी दिनुभयो । तमलोपाका नेताहरूले प्रधानमन्त्रीलाई आन्दोलनबाट तराईमा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।