क्वीन्सल्याण्डमा एनआरएनले गरे स्वागत नयाँ संविधानको, सिड्नीमा आज


que1 1गैरआवासीय नेपाली संघ क्वीन्सल्याण्डले बुधबार साँझ ब्रिसबेनको किंग जर्ज स्क्वायरमा सामूहिक दिप प्रज्वलन गरी नेपालमा संविधान बनेकोमा खुशी व्यक्त गरेको छ । समूदायका अगुवाका साथै एनआरएन क्वीन्सल्याण्डका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अभिमानसिंह बस्नेत, सचिव सन्तोष कुँवरका साथै आईसीसी सदस्यमा निर्वाचित ईश्वर कुईकेल सहित १ सय ५० भन्दा बढी कार्यक्रममा उपस्थित थिए । नेपाली झण्डासहित उपस्थित भएका क्वीन्सल्याण्डवासीले नेपालको नक्साको आकारमा दिप प्रज्वलन गर्दै एकअर्कामा शुभकामना आदानप्रदान गरेका थिए । एमएनटीभीसँग कुरा गर्दै भरतराज पौडेलले भने, “चिसो हावा र हुरीका कारण हामीले कार्यक्रम छोट्याउनु परे पनि विद्यार्थीहरु निकै उत्सुकतापूर्वक आएका थिए । हामी फर्कनेबेलामा समेत उनीहरु कार्यक्रमस्थलतर्फ गइरहेका थिए ।” नेपालमा संविधान निर्माण भएकोमा सबैभन्दा बढी खुशी युवापुस्ता देखिएको उनले बताए । यसैबीच, एनआरएन अष्ट्रेलियाले यही बिहीबार २४ अक्टोबरको दिन न्यू साउथवेल्सको महावाणिज्यदूतको कार्यालयसँगको सहकार्यमा नेपालको संविधान स्वागत कार्यक्रम गर्दैछ । नर्थसिड्नीमा रहेको महावाणिज्यदूतको कार्यालयमा हुने कार्यक्रममा पनि दिप प्रज्वलन गरी नेपालमा संविधान निर्माण र गैरआवासीय नेपालीहरुका मुद्दा समेत समेटिएकोमा धन्यवाद दिने कार्यक्रम रहेको छ । यसअघि, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली जनताको दशकौंदेखिको संविधान आपैंmले लेख्ने सपना साकार भएकोमा खुशी व्यक्त गरिएको थियो । विज्ञप्तिमा भनिएको छ, हामी देश र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहनीहरुलाई यस सुखद अवसरमा बधाई ज्ञापन गर्दै यस अभियानमा आफ्नो जीवनको बाजी लगाएर विभिन्न संघर्षमा सदादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दछौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?