नागरिकता पाएको भोलिपल्टै प्रधानमन्त्री राष्ट्रपति हुने सपना नदेख्न एमाले अध्यक्ष ओलीको चेतावनी


Oli Delivers Remarks

Oli Delivers Remarks
Oli Delivers Remarks

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अङ्गीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुलुकको राष्ट्र प्रमुख वा सरकारको कार्यकारी पदमा जान पाउने व्यवस्था संविधानमा राख्न नसकिने बताउनुभएको छ । वाम–प्रजातान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको प्रथम स्मृति दिवसका अवसरमा आज यहाँ साहना प्रधान प्रतिष्ठान र पेसागत महासङ्घ नेपालले आयोजना गरेको ‘नयाँ संविधान र मुलुकको भावी दिशा’ विषयको कार्यक्रममा नेता ओलीले अमेरिकामा पनि अङ्गीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति जस्ता पदमा जान नपाइने व्यवस्था भएकाले नेपालमा पनि सो व्यवस्था लागू हुने बताउनुभयो । संविधानप्रति असन्तुष्ट तराई मधेस केन्द्रित दलले सो व्यवस्था हुनुपर्र्नेलगायत माग राखिरहेका छन् । अध्यक्ष ओलीले भन्नुभयो, “नेपाल गरिब र सानो मुलुक भयो भन्दैमा छिमेकीले जे भन्यो त्यही मान्नुपर्छ भन्ने छैन ।” उहाँले तराईका जनता भड्काउने काम भइरहेको जनाउँदै संविधान आफँैमा दाल–चामल बोकेर आउने चिज नभएकाले यसले अधिकार र समान अवसरको सिद्धान्त मात्र ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो–आन्दोलनका नाममा अनावश्यक हिंसा निम्त्याएर दुई तिहाइ बहुमतबाट बनेको संविधानलाई नमान्नु लोकतन्त्रसम्मत हुँदैन । ”
संविधान कार्यान्वयनमा जोड
एमाले वरिष्ठ नेता झलनाथ खनालले नेत्री प्रधान जस्ता व्यक्तिको लडाइँ र सङ्घर्षको उपलब्धिका रुपमा लोकतान्त्रिक संविधानलाई लिनुपर्ने बताउनुभयो । एमालेका अर्का नेता माधवकुमार नेपालले नयाँ संविधानका नाममा धेरै विवाद गर्नुभन्दा यसको इमान्दार कार्यान्वयनमा उत्रनु आवश्यक रहेको बताउनुभयो । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले महिला शिक्षा र मतदानको अधिकारका लागि राणाकालमै सङ्घर्षमा उत्रिएकी साहनालाई आफूहरूले अभिभावकका रुपमा सदैव स्मरण गर्ने बताउनुभयो । एमाले उपमहासचिव घनश्याम भुसालले भारतसँगको सम्बन्ध र उतारचढावको शृङ्खला लामो समयदेखि चलेकाले उचित राजनीतिक र कूटनीतिक तहको छलफलबाट नेपालको स्वाभिमान उठाउने कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान अग्रगामी, समावेशी, समानुपातिकसमेत भएको जनाउँदै अब आर्थिक क्रान्तिमा होमिन सबैलाई आग्रह गर्नुभयो । नेकपा (संयुक्त)का अध्यक्ष गणेश साहले वामपन्थी नेताका बीचमा हुने आपसी खिचातानी, राजनीतिमा अपराधीकरण र भ्रष्ट प्रवृत्तिको अन्त्य नभएसम्म नेत्री प्रधानका सपना पूरा हुँदैन भन्नुभयो । सहानाका पुत्र उमेशलाल श्रेष्ठले कम्युनिस्ट कार्यकर्तालाई नेता विशेषको गुट वा पिछलग्गु बनाउँदा मुलुक हाँक्ने पार्टीका रुपमा पार्टी रुपान्तरित हुन नसक्ने टिप्पणी गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?