अर्को एकपटक वार्ताको आह्वान गर्ने तीन दलको निर्णय
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई बन्द हडताल र बल प्रयोगका कार्यक्रम छाडेर वार्तामा आउन पुनः आह्वान गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तराई मधेसमा जारी आन्दोलनको समीक्षा हुनुका साथै असन्तुष्ट दललाई वार्तामा आउन पुनः संयुक्त आह्वान गर्ने र सहमतिका लागि खाका बनाइने बैठकमा सहभागी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पत्रकारहरूलाई जानकारी दिनुभयो । उपसभापति पौडेलले आन्दोलन रोकेर, बन्द हडताल रोकेर आउन असन्तुष्ट दललाई आह्वान गर्ने जनाउँदै भन्नुभयो – “वार्तामा आउनुस्, ठोस प्रस्तावबारे त्यहीँ छलफल हुन्छ ।” नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधानको निर्माणपछि यसको कार्यान्वयनका विषय तथा असन्तुष्ट दललाई मुलुकमा तनाव र हिंसा तथा नाकाबन्दीजस्ता काम नगरी जनजीवन सामान्य बनाउन आह्वान गर्ने कुरा भएको बताउनुभयो । उहाँले राजमार्ग अवरुद्ध गर्ने, व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा तहसनहस गर्ने, फरक विचारका नेता, सभासद् र कार्यकर्ताका घरमा आक्रमण गरी हिंसा भड्काउने काम नगरी शान्तिपूर्ण कार्यक्रममा आउन र वार्तामा आउन आग्रह गर्ने पनि बताउनुभयो । नेत्री भण्डारीले भन्नुभयो – “वार्ताका लागि ढोका सधैँ खुल्ला छ । हिंसात्मक गतिविधि गरेर, राजमार्ग बन्द गरेर कसरी वार्ता गर्ने ?” संविधानको पहिलो मस्यौदा आएदेखि नै तराईका विभिन्न जिल्लामा गत ३९ दिनदेखि बन्द हडताल जारी छ ।