अक्टोबर १० र ११ मा सिड्नीमा छैठौं रेवती स्मृति कप फुटबल हुँदै
आगामी अक्टोबर १० र ११ तारिखका दिन सिड्नीमा छैठौं फाईभ ए साईड रेवती स्मृति कप ईन्डोर फुटबल प्रतियोगिता हुने भएको छ । म्यारिकभिल स्पोर्टस कम्प्लेक्समा हुने यस प्रतियोगितामा पाँच भेट्रान्स टिमका साथै १७ टिम सहभागी हुनेछन् । जसमा मेलबर्न र ब्रिसबेनबाट समेत सहभागिता हुनेछ । यसअघिको च्याम्पियन युनाईटेड फुटबल क्लब भिक्टोरियाले मेलबर्नबाट सहभागिता जनाउनेछ । चार समूहमा बाँडेर खेल सञ्चालन गरिने जानकारी गत शनिबार सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलन गराइएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस प्रतियोगितामा २ सय ८० भन्दा बढी खेलाडी सहभागी हुनेछन् भने ५० खेल हुनेछ । यसको प्रायोजनक किंग्स ओन ईन्ष्टिच्यूट (केओआई) र विज एजुकेशन कन्सल्टेन्सीले गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै केओआईकी बजार जेन क्याम्पबेलले नेपाली समूदायले आयोजना गरेको बृहद खेल गतिविधिमा सहभागी हुन पाउनु खुशीको कुरा भएको बताइन् । यसैगरी स्व. रेवती राईका मित्र एवं फुटबल खेलाडी अनिल थापाले प्रतियोगिताले वास्तवमै खेलकुदलाई प्रोत्साहन र स्व. राईको सम्मान गर्ने बताए । बिज एजुकेशनका कृतु केशीले प्रतियोगितामा सहभागी बन्न पाउनु खुशीको कुरा भन्दै नेपाली समूदायमा विस्तारै फुटबल खेल लोकप्रिय बन्दै गएको बताएका थिए । माछापुच्छ्रे क्लबका सल्लाहकार विजेन बटाजुले प्रतियोगिताको पूर्वतयारीका साथ अघि बढ्दा सफलतापूवृक सम्पनन गर्न सकिने भन्दै उच्चस्तरीय फुटबल हेर्न पाइने बताए । अष्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसनका सभापति राजु मानन्धरलाई प्रतियोगिता निर्देशक तोकिएको छ । मानन्धरले पत्रकार सम्मेलनमा बोल्दै फुटबलको बारेमा जानकारी भएका व्यक्तिहरुलाई समावेश गरेर प्रतियोगिता गर्दा विवादरहित हुने र खेलाडीहरुले पनि आफ्नो प्रतिभा देखाउन पाउने बताएका छन् । रेवती स्मृति कप फुटबलर रेवती राईको स्मृतिमा माछापुच्छ्रे्र फुटबल क्लब र गोर्खा नेप्लीज क्लबले हरेक वर्ष संयुक्त रुपमा आयोजना गर्ने गर्दछ । सन् २००८ मा रेवती राईको असामयिक निधन भएको थियो ।