कीर्ते नागरिकता बोकेका अष्ट्रेलियन पीआरधारी सुवेदीको आज अवकाश
कीर्ते गरेर उमेर बढाएको विवादमा परेका वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरतराज सुवेदीको आजबाट अवकाश हुने भएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले दिएको आदेशमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी र पाटन संयुक्त क्याम्पसको पत्रबाट सहसचिव सुवेदीको जन्ममिति २०१४ साल असोज १५ गते उल्लेख भएको तर २०१७ साल असोज १५ गते जन्ममिति पुष्टि गर्ने आधार छुटै देखाउन नसकेको उल्लेख गरिएको छ । निजामती सेवाको ऐनअनुसार ५८ वर्षमा अनिवार्य अवकाश पाउने उमेर हदका कारण शुक्रबार जागिरबाट अवकाश लिनुपर्ने छ । सहसचिव सुवेदीले मोरङबाट २०३२ सालमा लिएको नागरिकतामा उनको जन्ममिति २०१४ साल असोज १५ उल्लेख छ तर उनको कानुन किताब खानामा सच्याएर जन्ममिति २०१७ साल असोज १५ बनाएको बुझिएको थियो । सच्याएको जन्ममितिअनुसार उनले अझै तीन वर्ष जागिर खान पाउनुपर्ने दाबी गरिएको थियो । सामान्य प्रशासन मन्त्रालयले गरेको छानबिनमा दोषी देखिएपछि साविक उमेर हदअनुसार नै सुवेदीलाई सरकारले असोज १५ देखि लागू हुनेगरी अवकाशपत्र दिएको थियो । सरकारको सो निर्णयविरुद्ध सहसचिव सुवेदीले यही असोज ६ गते रिट निवेदन दिएका थिए । अब नागरिकता नक्कली पेश गरेको पत्ता लागेपछि यसले लहरो नै तान्ने देखिएको विश्लेषण गर्न थालिएको छ । अष्ट्रेलियाको पीआर लिएर नेपालमा जागिर खाएको भन्दै सरकारी कर्मचारीले पनि उनको विरोध गरेका थिए । अन्ततः नक्कली नागरिकताको पोल खुलेपछि अवकाश निश्चित भएको हो ।