पारामाट्टामा १५ वर्षीय किशोरले हानेको गोली लागि एकजनाको मृत्यु, जवाफी फायरमा बन्दुधारीको पनि ज्यान गयो


nsw policeसिड्नीको पारामाट्टामा एक अज्ञात बन्दुकधारीले प्रहरी मुख्यालयमा काम गर्ने एक कर्मचारीलाई भवन बाहिर गोली प्रहार गरी हत्या गरेको छ । गोली प्रहार हुने बित्तिकै प्रहरीको समूहले गोली चलाउँदा निज आक्रमणकारीको पनि ज्यान गएको छ । घटना शुक्रबार अपरान्ह करिब ४ः३० बजेको हो । प्रहरी मुख्यालयमा काम गर्ने एक साधारण कर्मचारी जब भवन बाहिर निस्कदै थिए उक्त बन्दुकधारीले नजिकैबाट गोली प्रहार गरेको थियो । यो घटनालाई प्रहरीले निकै क्रुरतापूर्ण भनेको छ । जब गोलीको आवाज सुनियो तब बाहिर आएका प्रहरी अधिकारीहरुमाथि नै पनि गोली हान्न थालेपछि भएको जवाफी फायरिंगमा आक्रमणकारीको पनि मृत्यु भएको हो । न्यू साउथवेल्सका प्रहरी कमिस्नर एन्ड्रयू सेसीपिनीले पत्रकारहरुलाई भने, आफ्नो ज्यानको समेत परवाह नगरी हाम्रा अफिसरहरुले थप क्षति हुनबाट जोगाएका छन् । मैले पछि घटना सम्बन्धी सीसीटीभी फुटेज हेरेको छु । म यति भन्न सक्छु यो क्रुरतापूर्ण आक्रमण थियो । हाम्रो कर्मचारीको केही दोष थिएन । ऊ काम सकाएर फर्किदै थियो । अपराधीले अन्धुधुन्ध आक्रमण गरेको छ ।

तर, उनले थप स्पष्ट पार्दै भने । अहिले यस क्षेत्र वरिपरिका बासिन्दाले त्रसित हुनुपर्ने कुनै कारण छैन । त्यस्तो कुनै खतरा छैन । घटना आतंकवादसँग सम्बन्धित नभई आपराधिक घटना भएको बताइएको छ ।

घटना भएको पारामाट्टास्थित प्रहरी मुख्यालयको विपरित बस्ने एक प्रत्यक्षदर्शी भन्छन्, म आफ्नै घरमा केही काम गर्दै थिएँ । गोलीको आवाज सुने । मलाई लाग्यो कुनै टायर पञ्चर भयो होला । तर, त्यसपछि फेरि अरु थप दुई फायरको आवाज सुनियो । मैले मेरो श्रीमतीलाई भने कसैले कसैलाई गोली हानेजस्तो छ । यसपछि उसले ढोका खोलेर बाहिर हेरी । उसले त्यहाँ एक व्यक्ति प्रहरीलाई गोली हान्न लागेको अवस्थामा र प्रहरीले त्यसको प्रतिकार गरेको देखी । अर्का प्रत्यक्षदर्शी राज सुध भन्छन्, मैले करिब चारभन्दा बढी फायर भएको सुनें । त्यतिबेला यो के भएको मैले ठम्याउन सकिन । तर पछि थाहा भयो आक्रमणको विषयमा । दिउँसै जब मानिसहरु कार्यालयबाट घर फर्किरहेका थिए यस्तो बेलामा घटना हुनु साँच्चै डरलाग्दो छ ।

यसैबीच, प्रहरीले आज विहान यस घटनाको आक्रमणकारी १५ वर्षीय मध्यपूर्वको पृष्ठभूमि भएको किशोर रहेको सार्वजनिक गरेको छ । उसले आक्रमण गर्नुको कारणका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?