तनहुँमा पहिलो पटक अजिङ्गर भेटियो, ८ फिट लम्बाई
तनहँुको व्यास नगरपालिका–१२ बेलवास स्थित रामबहादुर पुलामीको बारीमा लोपोन्मुख प्रजातिअन्तर्गतको पाइथान जातको अजिङ्गर फेला परेको छ । आठ फिट लम्बाइ र २५ केजी तौलको मोटाइ भएको निकै ठूलो पाटे अजिङ्गर भेटिएको सहायक वन अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । घाँस काट्न जाँदा सोही ठाउँका पुलामीले अजिङ्गर देखेपछि समुदायमा खबर गरी विनोद आलेलगायतको टोलीले साहसपूर्वक सो अजिङ्गरलाई समातेर जिल्ला वन कार्यालयमा बुझाएका हुन् । सो अजिङ्गर ३९ प्रजातिमध्ये लोपोन्मुख प्रजातिअन्तर्गतको पाइथान जातको रहेको जानकारी सहायक वन अधिकृत पाण्डेले दिनुभयो । उक्त लोपोन्मुख जातको अजिङ्गर हेर्न दिनभर वन कार्यालयमा मानिसको भीड लागेको थियो । अपराह्न केशवटार गाविस वडा नं २ कोइदिम र सुँडेबीचको छापडाँडा सामुदायिक वनमा लगेर उक्त अजिङ्गर छाडिएको जिल्ला वन कार्यालय तनहुँले जनाएको छ । जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले सो अजिङ्गरलाई उक्त जङ्गलमा छाडेको हो । लोपोन्मुख जातको उक्त अजिङ्गर संरक्षणका लागि जङ्गलमा लगी छाडिएको सहायक वन अधिकृत पाण्डेले बताउनुभयो ।