टर्कीमा भएको विस्फोटनमा परी कम्तीमा ८६ जनाको मृत्यु


turkey1शान्ति यात्राका लागि भेला भएको ठाउँमा शनिबार विस्फोट गराइँदा टर्कीको राजधानी अङ्कारामा भएको विष्पोटमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ । घटनामा १२६ जना घाइते भएको पनि यहाँको सरकारले जानकारी गराएकोे छ । टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले एक वक्तब्य जारी गर्दै भन्नुभयो, “शान्तिका लागि पहलस्वरूप गर्न लागिएको जुलुशमा संलग्न हुन भेला भएका नागरिक माथि गरिएको आक्रमण आततायी आक्रमण हो ।” शान्तियात्राका लागि रेल स्टेसनमा जम्मा भएका सयौँ मानिसलाई निशाना बनाई गराइएको उक्त विस्फोटनको शनिबार अबेरसम्म कसैले जिम्मा नलिएको बताइएको छ । टर्कीमा कार्यरत राजनीतिक पार्टी, नागरिक समाज सम्बद्ध संस्थाहरू र कुर्दिस पक्षधर पिपुल्स डेमोक्रेसी पार्टीद्वारा आह्वान गरेको शान्तिपूर्ण जुलुसमा सहभागिता जनाउन जम्मा भएका मानिसलाई निशाना बनाई गरिएको आत्मघाती हमलाबाट रेल स्टेसनका संरचनासमेतमा ठूलो क्षति भएको डोगान समाचार संस्थाले जनाएको छ । टर्कीको एनटिभी टेलिभिजनले खिचेको एक दृश्यमा हँसिलो मुद्रामा देखिएका आक्रमणकारीहरूले एकआपसमा हात समाती नाचे त्यसपछि जमिनमा पल्टिएलगत्तै उक्त विस्फोट भएको देखिएको छ । प्रत्यक्षदर्शी ५२ वर्षीय अहमेत ओनेनका अनुसार “पहिले एउटा विस्फोट भयो त्यसपछि मानिसहरू भागाभाग गर्दै गर्दा अर्को भयङ्करको विस्फोट भयो । पछि हामीले लास यत्रतत्र छरिएको अवस्थामा पायौँ ।” गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशको शान्ति तथा प्रजातन्त्रमा धक्का दिने प्रयासस्वरूप गरिएको आक्रमणको सरकार घोर निन्दा गर्छ । घटनापछि टर्कीका प्रधानमन्त्री अहमेत दभाटोग्लुलाई घटनाको बारेमा स्वास्थ्यमन्त्री मेहमेत मेजिनोग्लुले जानकारी गराउनुभएको थियो । आतङ्ककारी समूहद्वारा गराइएको उक्त आततायी घटनाको सरकार घोर निन्दा गर्छ र छिट्टै छानबिन गरी घटनामा संलग्न समूह तथा व्यक्तिहरूलाई हदैसम्मको कारबाही गरिनेछ, प्रधानमन्त्री दभाटोग्लुले पत्रकारसँगको कुराकानीमा बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?