यो संविधान विश्वको उत्कृष्ट संविधान हो– नेका महामन्त्री सिटौला
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काँगे्रसको नेतृत्व र सक्रियतामा हालै घोषणा भएको सङ्घीय संरचनासहितको नेपालको संविधान विश्वमा नै अति प्रजातान्त्रिक र अधिक जनअनुमोदित संविधान भएको दाबी गर्नुभएको छ । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ ले धरानमा आयोजना गरेको दसँै, तिहार तथा छठ र बकर इदका अवसरमा शुभकामना आदानप्रदान समारोहमा बोल्नुहुँदा महामन्त्री सटौलाले सो कुराको दाबी गर्नुभएको हो । सम्पूर्ण राजनीतिक दलको भावना र विचारलाई समेटेर नेपाली काँग्रेसको अगुवाइमा आएको यो संविधान सहमतिको दस्तावेजसमेत रहेको चर्चा गर्नुहुँदै महामन्त्री सिटौलाले यो संविधानलाई गहनरुपमा केलाएर अध्ययन गर्ने हो भने यसले सम्पूर्ण नेपालीलाई अधिकार सम्पन्न बनाएको छ भन्नुभयो । महामन्त्री सिटौलाले गरिब, दलित, महिला तथा पछाडि पारिएका र राष्ट्रको मूलधारमा नसमेटिएका सबै जातजाति, भाषाभाषीका नेपालीलाई समान रुपमा अधिकार सम्पन्न बनाउने कार्यमा वर्तमान संविधान सफल भएको पनि उहाँको टिप्पणी थियो । संविधानले धर्म निरपेक्षता भनेर उल्लेख गरेर आएको भए पनि यसले सनातनी परम्परागत धर्म संस्कृतिलाई राज्यले संरक्षण र सम्बद्र्धन गर्न जरुरी छ भनेर उल्लेख भएर आएकाले यसलाई कसैले पनि नाजायज रुपमा बुझ्न नहुनेतर्फ पनि महासचिव सिटौलाले आग्रह गर्नुभयो । नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समितिका सभापति चन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सुनसरी काँग्रेस सभापति राजीव कोइराला तथा नेता हरिनाथ बास्तोला, राजेशमान श्रेष्ठ, तिलक राई, गोमा पराजुली, गङ्गा चौलागाईं र गोविन्द बस्नेतलगायतले बोल्नुभएको थियो ।