टेण्डरमा दलाल, गुण्डा र माफियाले हस्तक्षेप गर्न नसक्ने
मन्त्री बस्नेत
उद्योग मन्त्री महेश बस्नेतले उद्योगमाथि बढ्दो दलाल, गुण्डागर्दी र माफियाको अन्त्य गरिने बताउनुभएको छ । नेकपा (एमाले) क्षेत्र नं २ भक्तपुरलेसूर्यविनायकमा आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले अब कुनै पनि टेन्डरमा दलाल, गुण्डा र माफियाले हस्तक्षेप गर्न नसक्ने गरी व्यवस्था गरिने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “अब टेन्डर आह्वान गर्दा ई–रजिस्ट्रेसन नियम लागू गर्न सबै उद्योगलाई परिपत्र जारी गरिसकिएको छ ।” नेपालमा उद्योगको विकास र विस्तारका लागि वैदेशिक लगानी भित्र्याउन औद्योगिक ऐन संशोधन गर्न लागेको र सो ऐन पारित भएलगत्तै लागू हुने बताउनुभयो । कम्पनी रजिष्ट्रारको कार्यालयदेखि हरेक औद्योगिक क्षेत्रमा सिसिटिभीको व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्री बस्नेतलाई सम्मान गरिएको थियो । एमाले क्षेत्र नं २ का अध्यक्ष राजकुमार जोशीको सभापतित्वमा भएको सो कार्यक्रममा सभासद् केदार सञ्जेल, एमालेका जिल्ला उपाध्यक्ष बच्चन देउजालगायतले भक्तपुरको विकासमा मन्त्रीले चासो दिनुपर्नेमा जोड दिनुभएको थियो ।