इटहरिलाई वनजंगलको शहर बनाइने


इटहरीलाई वनजङ्गलको सहर बनाउने अभियानलाई सार्थकता दिनका लागि खोर्सानेखापबाट वृक्षरोपण सुरु गरिएको छ । इटहरी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र किप इटहरि क्लिन अभियान समूहसमेतको सक्रियतामा १० हजार बिरुवा २० हजार हातहरू भन्ने नाराकासाथ इटहरी नगरको विभिन्न वडा, टोल र बस्तीमा बृहत् रूपमा बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । इटहरीको पर्यटकीय क्षेत्र खोर्सानेखाप र तालतलैया क्षेत्रबाट बिरुवा रोपेर अघि बढेको वृक्षरोपण अभियान इटहरी–९ को मुस्लिम समुदायको सघन बसोवास रहेको गाउँमा पुगेर सम्पन्न भएको थियो । नगरको हरेक टोल र बस्तीमा नगरवासीहरू बिहानैदेखि सडक र गल्लीहरूमा हातमा कुचो र कुटोलगायतका सामग्री लिएर बिरुवा रोप्न र सडक सफाइ गर्न क्रियाशील भएका थिए । यसै क्रममा अन्तर्राष्ट्रिय सरसफाइ दिवशका अवसरमा सो कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले भावी पुस्तालाई सुन्दर वातावरणीय सम्पत्ति हस्तान्तरण गर्नका लागि पनि बिरुवा रोप्नु अनिवार्य भएकोमा जोड दिनुभयो । मन्त्री आचार्यले वन विनास हुन नदिन र चुरे संरक्षण गरी भावी पुस्तालाई सुन्दर प्रकृतिको जिम्मा लगाउनका लाग यस आर्थिक वर्षदेखि १० वर्षको अवधिलाई वन वर्षका रूपमा मनाउने तयारीमा सरकार लागेको पनि जानकारी दिनुभयो । केही सीमित र मुट्ठीभर व्यवसायीको निहित स्वार्थ पूरा गर्नका लागि सञ्चालित उद्योग व्यवसायका कारण चुरे क्षेत्र र खोलानाला क्षेत्रमा व्यापक विनास हुँदा अहिले नै हामीले ठूलाठूला प्राकृतिक विपत्ति झेल्नुपरेको उल्लेख गर्दै मन्त्री आचार्यले सो क्षेत्रलाई विपत्तिबाट जोगाउन हामी सचेत हुनैपर्दछ भन्नुभयो । इटहरी नगरपालिकाका कार्यकारी प्रमुख पशुपति खतिवडाको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारी, नेकपा (एमाले) इटहरीका अध्यक्ष यामकुमार सुब्बा, किप इटहरी क्लिन अभियानकर्मी मनु मञ्जिल र उद्योग वाणिज्य सङ्घ इटहरीका महासचिव दिवश पोख्रेललगायतले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?