राष्ट्रपतिमा सहमति बनाउनका लागि अन्तिम प्रयास गरिने


Prachandaसत्तारूढ दलका शीर्ष नेता सम्मिलित ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति र समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा बसेको बैठकमा आफूहरूले प्रस्ताव गरेका वा अन्य उपयुक्त उम्मेदवारका नाममा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार आफूहरूले उम्मेदवार बनाएका वा अन्य दलका उम्मेदवारमा सहमति हुने सम्भावना भएमा प्रयास गर्ने निर्णय भएको बताउनुभयो । सत्तारुढ गठबन्धनका विभिन्न दलका ११ शीर्ष नेता सो समितिमा हुनुहुन्छ । समितिमा भारतको अघोषित नाकाबन्दी, पेट्रोलियम पदार्थको सङ्कटलगायत विषयमा पनि छलफल भएको थियो । यही कात्तिक ११ गते व्यवस्थापिका–संसद्मा हुने राष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा हालसम्म एमाओवादीका नन्दकिशोर पुन उम्मेदवार हुने निर्णय सम्बन्धित दलले गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि सो पदमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मदेवारको नाम तय गरिसकेको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनकै सन्दर्भमा समितिको बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अलग्गै भेटवार्ता पनि भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?