ईन्धन संकट भन्दै प्रधानमन्त्रीको सुरक्षामा सवारीसाधन कटौती, गृहमन्त्रीले पनि एस्कर्ट गाडी हटाए
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा पेट्रोलियम पदार्थको अभावलगायत कुरालाई ध्यानमा राख्दै आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सचिवालयमा रहेका सवारीसाधनको सङ्ख्यामा कटौती गर्न आज निर्देशन दिनुभएको छ । उहाँले सवारीसाधनको परिचालनमा मितव्ययिता अपनाउन पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशनानुसार उहाँको सुरक्षामा रहेका सुरक्षाकर्मीको सवारीसाधन तथा सचिवालयमा प्रयोग भइरहेका सवारीसाधनको सङ्ख्या घटाइसकिएको उहाँका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिनुभयो । मुलुकमा चरम इन्धन सङ्कट भएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफूले प्राप्त गर्दै आएको सवारी सुरक्षा सुविधा कटौती गर्नुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’(अगुवापछुवा सुरक्षा दस्ता गाडी)सहितको सवारी साधन प्रयोग नगर्ने घोषणा गर्नुभएको हो । आइतबार तीन वटै सुरक्षा निकायका प्रमुखको बैठकमा मन्त्री बस्नेतले सो प्रस्ताव गर्नुभएको र आजदेखि लागू गरिएका हो । गृहमन्त्री बस्नेतले मुलुकले चरम इन्धन सङ्कट ब्यहोरेको र आफूलाई अहिले कुनै पनि सुरक्षा चुनौती नभएकाले प्रहरी र सशस्त्र प्रहरीका दुई वटा अगुवा र पछुवा गाडी कटौती गरिएको जानकारी दिनुभयो । मन्त्री बस्नेतले भन्नुभयो–“नागरिक इन्धन सङ्कटमा परेर हैरानी खेप्न बाध्य भएको अवस्थामा राज्यको साधन र स्रोतको खर्च गर्नु जायज नभएकाले सुविधा कटौती गरेको हुँ, तत्काल मलाई सुरक्षा चुनौती पनि छैन, मुलुक सङ्कटमा परेको बेला अनावश्यक रुपमा सुविधा लिने पक्षमा म छैन ।