देशले नयाँ राष्ट्रपति पाउँदै, भण्डारी, गुरुङ र महर्जन
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि बुधबार हुने निर्वाचनमा तीन जनाले उमेदवारी दिनुभएको छ । मुलुकको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दिनुभएको हो । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा उहाँहरूले आज उमेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दलका तर्फबाट उम्मेदवारी दिनुभएका भण्डारीले आफू विजयी भएमा राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई अझ उँचो बनाउने अठोट व्यक्त भयो । उहाँले भन्नुभयो, “मलाई जुन विश्वासका साथ राष्ट्रिय ठूलो जिम्मेवारी सुम्पिन लागिएको छ, त्यो विश्वासलाई अझ उँचो राख्ने प्रयास म गर्नेछु ।” नयाँ संविधान जारी भएपछि नेपाल नयाँ ढङ्गले अगाडि बढ्ने, नेपाली महिलाको पनि सहभागिता बढ्ने तथा संविधानको मर्म र भावनाअनुरुप मुलुक अगाडि बढ्न लागेको सन्देश आफ्नो उम्मेदवारीले दिएको नेत्री भण्डारीले बताउनुभयो । राष्ट्रपति जस्तो जिम्मेवार पदमा आफूलाई पार्टीहरूले अगाडि सारेर जिम्मेवारी दिने प्रयास गर्नुलाई आफूप्रतिको विश्वासका रुपमा लिएको बताउँदै उहाँले दलहरूबीचको सहमति र विश्वासलाई कसैले पनि डगमगाउन दिनु नहुने धारणा राख्नुभयो । “हामी सङ्क्रमणकालमै छौँ, हाम्रा सामु थुप्रै चुनौती छन्, त्यसैले राष्ट्रपति चयनका लागि सकेसम्म मिलेर जाँदा राम्रो हुन्थ्यो भन्ने मेरो धारणा रहेको छ,” उहाँले भन्नुभयो । आफ्नो उमेदवारीलाई अहिले गठबन्धनमा रहेका सबै दलले समर्थन गरेको र बुधबारसम्ममा संसद्मा रहेका सबै दलको समर्थन प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपालको एकता, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समृद्ध लोकतन्त्र र समृद्ध जीवनका लागि आफ्नो उम्मेदवारीले नयाँ मार्गप्रशस्त गरेको उहाँको भनाइ थियो । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिनुभएका नेता गुरुङले काँग्रेस लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको पुरानो पार्टी भएकाले विजयी हुने विश्वासका साथ पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताउनुभयो । “जित हार भन्ने कुरा लोकतान्त्रिक प्रक्रियामा भइरहन्छ, जित हारको कुरा होइन, पार्टीमा लागेपछि निर्वाचन लड्नुपर्छ, निर्वाचन लड्ने जित्छु भनेर नै हो”– उहाँले भन्नुभयो । काँग्रेसको इतिहास र भूमिकालाई सम्झेर सबै पार्टीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्दै उहाँले आफू व्यक्तिगत रुपमा नभई काँग्रेस नै निर्वाचनमा लडेकाले विजयी हुने आधार धेरै भएको बताउनुभयो । व्यवस्थापिका–संसद्मा काँग्रेस जस्तै अरू पनि लोकतान्त्रिक पार्टी भएकाले उनीहरूबाट आफूले समर्थन प्राप्त गर्ने उहाँको भनाइ थियो । सहमतिको प्रयास अझै भइरहेकाले बुधबार मतदान गर्ने बेलासम्ममा सहमति हुन सक्ने उहाँले बताउनुभयो । त्यसैगरी नेमकिपाका तर्फबाट उम्मेदवार बन्नुभएका महर्जनले संवैधानिक व्यवस्था र आफ्नो पार्टीले संसद्मार्फत खेलेको भूमिकालाई विचार पु¥याएर अरू राजनीतिक दलले आफ्नो उम्मेदवारीलाई सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भण्डारीको दर्ता
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा नेकपा(एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता भएको छ । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ बजेर ५ मिनेट जाँदा सो उम्मेदवारी दर्ता गरिएको हो । भण्डारीका प्रस्तावकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ । त्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरी, नेकपा(माले)का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(संयुक्त)का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल हुनुहुन्छ । सत्ता गठबन्धनमा सहभागी दलका तर्फबाट संयुक्त उम्मेदवारको रुपमा भण्डारीको उम्मेदवारी दर्ता गराइएको एमालेका सचेतक गोकुल घर्तीले जानकारी दिनुभयो । एमालेको सोमबार बसेको स्थायी समितिको बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सहमतिका आधारमा राष्ट्राध्यक्ष चयन हुन नसकेपछि दलहरूले बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् ।
गुरुङको उम्मेदवारी दर्ता
नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर उहाँले आज अपराह्न १२ः१५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो । गुरुङको प्रस्तावकमा काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले काँग्रेस पुरानो एवम् लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताउनुभयो । आफू विगतदेखि नै लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले विजय सुनिश्चित भएको र संसद्मा रहेका सबै दलले सहयोग गर्ने समेत उहाँको भनाइ छ । संसद्को सार्वजनिक सुनुवाइ समितिका सभापतिसमेत रहनु भएका गुरुङ काँग्रेसका पुराना नेता हुनुहुन्छ ।
महर्जनको उम्मेदवारी दर्ता
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा आज अपराह्न १२ः१० मा नेता महर्जनले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा सोही पार्टीका सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहनुभएको छ । उम्मेदवारी दर्ता गराएपछि महर्जनले संवैधानिक व्यवस्थानुसार नै आफूले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिनुभयो । संविधान लेखन प्रक्रिया र राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले खेलेको भूमिकालाई संसद्मा रहेका सबै राजनीतिक दलले सम्मान गर्ने र आफूलाई विजयी गराउने जिकिर उहाँले गर्नुभयो ।