राष्ट्रपतिका लागि मतदान, साँझ ५ बजेसम्ममा मतपरिणाम आइसक्ने
संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि मतदान चलिरहेको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा अहिले बिहान ११ बजेबाट सुरु भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ । मतदान दिउँसो २ बजेसम्म चल्ने छ । मतदान सकिएपछि दिउँसो २ः३० बजेबाट मतगणना प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष प्रस्तुत गरिनेछ भने बेलुका ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिनेछ ।