नवनिर्वाचित राष्ट्रपतिको भनाई, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि प्रयत्नशील रहन्छु
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति पदमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरबाट निस्कने क्रममा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेेमा जोड दिनुभयो । भण्डारीले भन्नुभयो, “मुलुकको हित नै मेरो सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।” उहाँले नयाँ लोकतान्त्रिक संविधान लागू भएपछिको राष्ट्रपतिको निर्वाचनमा आफूलाई विजयी गराएकामा सबै दल, सांसद र जनतालाई धन्यवाद पनि दिनुभयो ।
राष्ट्रपति डा यादवको बधाई
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति डा रामवरण यादवले बधाई दिनुभएको छ । व्यवस्थापिका–संसद्बाट निर्वाचित भएको घोषणालगत्तै राष्ट्रपतिले टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाई दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्र्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।