नेकपा–माओवादी र नेकपा(एकीकृत)बीच पार्टी एकता
नेकपा–माओवादी र नेकपा(एकीकृत)बीच पार्टी एकता भएको छ । माओवादीको उपत्यका ब्युरोका कार्यालय कुपण्डोलमा आयोजित संयुक्त एकता अधिवेशनमार्फत दुई पार्टीबीच एकता घोषणा भएको हो । दुई पार्टी एकतापछि पार्टीको नाम नेकपा (माओवादी क्रान्तिकारी) राख्ने सहमति भए पनि त्यसको अन्तिम टुङ्गो राष्ट्रिय सम्मेलनले गर्ने भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष वैद्यले नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यसहित दुई पार्टीबीच एकता गरिएको बताउनुभयो । एकीकृतसँग मात्रै होइन नेपालमा छरिएर रहेका सबै माओवादी पार्टीबीच एकता अहिलेको आवश्यकता भएको बताउँदै उहाँले त्यसका लागि आफ्नो पार्टीले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले अहिले धक्का खाएको अवस्था भए पनि त्यो फेरि उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भारतले गरेको अघोषित नाकाबन्दीले नेपालमा फेरि राष्ट्रियताको आन्दोलनको आवश्यकतालाई पुष्टि गरेको बताउँदै भारतीय हस्तक्षेपको सबै नेपाली मिलेर सामना गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । मधेसी जनताको माग सही भए पनि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका पार्टी भने भारतको पक्षमा रहेको उहाँले आरोप लगाउनुभयो । एकीकृतका महासचिव परी थापाले मुलुकका सामु देखापरेका चुनौतीको सामना गर्न र क्रान्तिको दायित्व पूरा गर्न एकता गरिएको बताउनुभयो । दुई पार्टीबीच तीन वर्ष अगाडिदेखि एकताको प्रयास गरिए पनि अहिले आएरमात्रै त्यसले सार्थकता पाएको उहाँले जानकारी दिनुभयो । पार्टीको संयुक्त केन्द्रीय समिति विघटन गरी सम्मेलन आयोजक समिति बनाएर राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मिति तय गर्ने आयोजकले जानकारी दिए ।