काँग्रेसले हस्तक्षेपकारी भूमिका खेल्ने र समस्या समाधान गर्ने पौडेलको दाबी
नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले वर्तमान समस्या समाधान गर्न आफ्नो पार्टीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा स्व.गणेशमान सिंहको जन्म शताब्दीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यवाहक सभापति पौडेलले अब नेपाली जनताले नाकाबन्दी थेग्न नसक्ने भन्दै समाधानका लागि मधेसवादी दल, सरकार र भारतसँग संवाद गरेर समस्याको समाधान गरेरै छोड्ने बताउनुभयो । उहाँले मध्यस्थता र सहजकर्ताको भूमिका नेपाली काँग्रेसको काँधमा आएको भन्दै तराईमा मात्रै काँग्रेसका एकसय सभासद छन् उनीहरुको मुद्दालाई ओझेलमा पार्न काँग्रेसले सक्दैन भन्नुभयो । “सबैतिर सन्तुलन गरेर समस्याको समाधान गर्नुपर्छ, आफूले हिजो भारतीय राजदूतसँग पनि भनेको छु नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाउनु हुँदैन । सबै पक्षलाई मिलाएर समस्याको निकास निकाल्नुपर्छ”–उहाँले भन्नुभयो । उहाँले विपक्षमा बसेर पार्टीको हैसियत र आवाजको ओजन बढेको र सशक्त विपक्षीको रुपमा रहेर संविधान कार्यान्वयनका पक्षमा भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले नेकपा (एमाले)सँगको गठबन्धन टुट्नु काँग्रेसका लागि राम्रो भएको भन्दै अरुले बिगारेका र समस्या बनाएका कामको समाधान काँग्रेसले गर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गरेको काँग्रेसले अब निर्णायक प्रतिपक्षको भूमिकामा रहेकाले अहिलेको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद नमान्ने सरकार र संसदमा रहनु नेपाली काँग्रेसका लागि आफैँमा गर्वको कुरा रहेको बताउनुभयो ।