भारतले लगाएको नाकाबन्दीले समस्यामा परेको बेला एनआरएनले देशमा औषधि सहयोग गर्ने
प्रवासमा रहेका नेपालीहरुको सबैभन्दा ठूलो सञ्जाल गैरआवासीय नेपाली संघ एनआरएनएले भारतीय नाकाबन्दीका कारण देशमा मानवीय संकट उत्पन्न हुन लागेको बेला औषधि सहयोग गर्ने भएको छ । एनआरएनले अघोषित नाकाबन्दीका कारण देशमा उत्पन्न गम्भीर मानवीय संकटको कारण दुःखी भएको जनाएको छ । संस्थाका अध्यक्ष शेष घलेले एक विज्ञप्ति जारी गर्दै “नेपालको दक्षिणी क्षेत्रमा भएका राजनीतिक विरोध तथा प्रदर्शनका क्रममा सैयौं मानिस मरेका वा घाइते भएका छन् र ईन्धन संकटले सवारी दुर्घटना निम्त्याएका छन् । अत्यधिक भीड हुने सवारी साधनको छतमा खतरनाक ढंगले महिला, बालबालिका र जेष्ठ नागरिकले यात्रा गर्नुपर्ने अवस्था छ । देशमा अत्यावश्यक सामाजिकसेवाहरु प्रभावित भएका छन् र अस्पतालमा अत्यावश्यक औषधि र सामग्रीको अभाव हुँदै गएको”मा चिन्ता जनाइएको छ । विज्ञप्तीमा यस्तो मानवीय संकटको अवस्थाको तत्कालै अन्त्य हुनुपर्ने माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, हामी विशेषगरी भारतलाई दुईदेशका जनताबीच रहिआएको सद्भावना र मित्रतालाई दिगो राख्दै उसले लगाएको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न अपिल गर्दछौं । हामी नेपाल सरकार र आन्दोलनरत दलहरुलाई उचित संवैधानिक र शान्तिपूर्ण प्रक्रियाको पालना र्दै सम्वाद मार्फत छिट्टै सबै विवादित मुद्दाहरुको समाधान खोज्न आग्रह गर्दछौं ।
यो संकटको घडीमा एनआरएनले तीन बुँदै कार्ययोजना पनि अघि सारेको छ । विज्ञप्तिमा जनाइए अनुसार अब एनआरएनले सरकारी निकाय र साझेदारहरुसँग समन्वय गरी अस्पताल तथा स्वास्थ्य चौकीलाई चाहिने औषधि र चिकित्सा तथा अन्य चिकित्साजन्य सामग्री एवं मानवीय सहयोग प्रदान गर्नेछ । यस्तै एनआरएनले जाडोको बेलामा आवश्यक पर्ने कब्बल र अरु सामग्री संकलन र वितरण गर्न एउटा एनआरएन संकट सहयोग समूह गठन गर्नेछ । त्यस्तै एनआरएनले संकटको सकारात्मक समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहलकदमीलाई जारी राख्नेछ । यसअघि एनआरएनले जारी गरेको विज्ञप्तिमा भारतका नाम लिइएको थिएन । देशमा यस्तो संकट परेका बेला पनि एनआरएनले केही नगरेको भन्दै आलोचना भइरहेको बेला यो विज्ञप्ति आएको छ । साथै, एनआरएनले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापालाई पत्र लेख्दै देशमा अभाव भएका औषधिहरुको सूचि उपलब्ध गराइदिन पनि अनुरोध गरेको छ । यस्तो सूचि प्राप्त भएपछि उपलब्ध हुने विभिन्न देशहरुबाट नेपालमा औषधि पठाउन पहल गर्ने तयारी एनआरएनको छ ।
विश्वभर ज्ञापन पत्र पनि बुझाउने
यसैबीच, विश्वभरि रहेको एनआरएनको सञ्जाल मार्फत देशको संकटका बारेमा विरोध जनाउन ढिला भइसकेको भन्ने गुनासो आइरहेको बेला एनआरएनले आफ्ना मातहतका सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई एक साताभित्र आफ्नो देशमा रहेको भारतीय दूतावासमा विरोधपत्र बुझाउन निर्देशन दिएको छ । संस्थाका महासचिव डा. बद्री केसीका अनुसार यस्तो विरोध पत्र बुझाउँदा संस्थाको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तोकिदिएको मापदण्डको अधिनमा रही बुझाउनुपर्नेछ । मातृभूमिमा परेको संकटका बेला सक्रिय भएर भारतीय नाकाबन्दीको विरोधमा लाग्न पनि एनआरएनले यस्तो निर्णय गरेको महासचिव केसीको भनाई छ । यससँगै केसीले राष्ट्रिय समन्वय परिषद्हरुलाई यस्तो विरोध पत्र बुझाउँदा त्यसको बोधार्थ अन्तर्राष्ट्रिय मानवीय सहायता सम्बन्धी संघ संस्थाहरुलाई पनि गराउन निर्देशन दिनुभएको छ ।