नेपालमा नाकाबन्दी लगाएको भन्दै भारतीय प्रधानमन्त्री मोदीको लण्डनमा व्यापक विरोध
बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालीहरुले प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी तीन दिने भ्रमणका क्रममा बिहीबार लण्डन पुगेका हुन् । उनको विरोधमा नेपालीहरुले प्रदर्शन गरेका छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र नेपालमाथि नाकाबन्दी गरेको भन्दै बेलायतमा बस्दै आएका नेपालीहरुले प्रदर्शन गरेका हुन् । नेपालीहरुले बेलायती प्रधानमन्त्रीको कार्यालय नजिकै रिचमण्ड टेरेसमा मोदीविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सात सयभन्दा बढी नेपाली सहभागी भएका छन् । प्रदर्शनमा बेलायतस्थित तीन दर्जन भन्दा संघसंस्थाका प्रतिनिधि र अन्य नेपालीहरू स्वतस्फूर्त सहभागी भएका छन् । प्रर्दशनकारीहरुले मोदी बिरुद्ध चर्को नारा लगाएका थिए । उनीहरुले मोदी मानविय संवेदना बिरुद्ध उभिएको भन्दै मोदीलाई अपराधी भनेका थिए ।प्रदर्शनमा सहभागीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा तथा प्ले कार्ड बोकेका थिए । उनीहरुले भूकम्पबाट भर्खरै बाहिर पीडित बनेको मुलुकमा भारतीय नाकाबन्दीले गम्भीर असर गरेको भन्दै विरोध जनाएका थिए । मोदीलाई नट वेलकम टु लण्डन भन्ने प्लेकार्डमा उनीहरुले लेखेका छन् । प्रदर्शनमा पुगेका नेपालीहरुले टिष्टादेखि काँगडासम्म नेपालको भूभाग भएकोले यो फिर्ता गर्न पनि माग गरेका छन् । यसअघि बेलायती सेनामा रहेका नेपालीको तर्फबाट प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेखी नेपालमा भइरहेको नाकाबन्दी युद्धको बेलामा मात्र हुने भन्दै त्यसको विरोध गरिएको थियो । नेपालीहरु भारतका विभिन्न यद्धुमोर्चामा उसको देश बचाउन लडिरहने र भारतले नेपालमा नाकाबन्दी गरेर औषधिसम्म पनि पुगन नदिने अवस्था सिर्जना गरेबाट आपूmहरुको भावनामा ठेस पुगेको उनीहरुले लेखेका छन् । मोदीलाई नेपालीको सच्चा मित्र ठानेर विगतको समयमा उनको भाषण सुन्न मात्रै पनि ललायित बनेर जाने नेपाली समूदाय यतिबेला उनको असली रुप देखेपछि विरोधमा जुटेका छन् । लण्डनमा नेपालीहरुको यो अहिलेसम्मकै ठूलो प्रदर्शनमा मानिएको छ ।