प्रधानमन्त्री महासभामा भाग लिन शुक्रबार न्युयोर्क जाँदै ,उपचार पनि गराउने


प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार अपराह्न न्युयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री कोइरालाले संयुक्त अरब इमिरेट्सको अबधाबीमा रहँदा असोज ४ गते मध्यपूर्व पश्चिम एसिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्या समाधानका विषयमा जानकारी लिई विशेष निर्देशनसमेत दिनुहुने छ । प्रधानमन्त्रीले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहँदा केही उच्चस्तरीय राजनीतिक भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुने छ । सो अवसरमा उहाँले छिमेकी मित्र राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग आपसी हित र चासोका विषयका कुराकानी गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाले राष्ट्र सङ्घका महासचिव वान कि– मुनसँग असोज ११ गते विशेष भेटवार्ता गर्नुहुने छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घका महासचिव मुनले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिनुहुने छ । न्युयोर्कमा रहँदा महासभामा भाग लिने सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री कोइराला सहभागी हुनुहुनेछ । प्रधानमन्त्री असोज ११ गते न्युयोर्कमा नेपाली समुदायले आयोजना गरेको अन्तक्र्रियामा सहभागी हुने समेत कार्यक्रम छ । प्रधानमन्त्री कोइराला महासभासम्बन्धी कार्यक्रम सकेर स्वदेश फर्कने क्रममा न्युयोर्कबाट बेल्जियमको ब्रसेल्समा पुग्नुहुनेछ । त्यहाँ रहँदा प्रधानमन्त्रीले युरोपेली मुलुकमा कार्यरत नेपाली नियोग प्रमुखको संयुक्त बैठकमा सहभागी भई आवश्यक निर्देशन दिनुहुने छ । महासभामा जाने क्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे अबुधाबीबाट प्रतिनिधिमण्डलमा सामेल हुनुहुनेछ । उहाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को आगामी मङ्सिर १० – ११ गते काठमाडौँमा आयोजना हुने १८ औंँ शिखर सम्मेलनको निम्तो दिन श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा हुनुुहुन्छ । यसैगरी जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि मन्त्रिस्तरमा भाग लिने कार्यक्रम तय गरिएको छ । महासभामा असोज ८ गते आदिवासी जनजातिसम्बन्धी विश्व सम्मेलनको आयोजना गरिएको छ । सो सम्मेलनमा मन्त्रिस्तरमा भाग लिने कार्यक्रम छ ।
सार्क विदेशमन्त्रीसँग पनि भेट
असोज ९ गते हरेक वर्ष जस्तै यस पटक पनि महासभाको अवसर पारेर सार्क क्षेत्रको मन्त्रिस्तरीय अनौपचारिक बैठकमा सार्क शिखर सम्मेलनको आयोजना गर्न नेपालले गरेको तयारीका बारेमा सदस्य राष्ट्रलाई जानकारी गराइनेछ । सोही क्रममा परराष्ट्रमन्त्री पाण्डेले छिमेकी राष्ट्रका विदेशमन्त्रीसँग भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले न्युयोर्कमा रहँदा त्यहाँ आयोजना हुने नेपाललाई चासो भएका अतिकम विकसित, विकासशील, जी ७७ र चीन तथा अन्य साझेदारसँग सहस्राब्दी विकास लक्ष्यपछिका संयुक्त विकास योजनाका विषयमा विभिन्न तहमा छलफल गर्ने छ । प्रधानमन्त्रीका साथ नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्रीका प्रमुख निजी सचिव वसन्तकुमार गौतम, कामु परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीको अवैतनिक जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, मन्त्रालयका सहसचिव दीपक धिताल, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल र परराष्ट्र मन्त्रीका जनसम्पर्क सल्लाहकार अश्विनकुमार पुडासैनी रहुनुहुनेछ । यस्तै राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र त्यहाँका उच्च अधिकारी प्रतिनिधिमण्डलमा सामेल हुनुहुनेछ । यसैक्रममा उहाँको उपचारको फलोअप पनि गरिने भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?