अष्ट्रेलिया भ्रमण सकेर प्रधानन्यायाधीश कल्याण श्रेष्ठ मेलबर्नबाट स्वदेश फिर्ता
सिड्नीमा आयोजना गरिएको १६ औं एशियाली प्रधान न्यायाधीशहरुको सम्मेलनमा सहभागी हुन साताव्यापी भ्रमणमा आउनुभएका प्रधान न्यायाधीश कल्याण श्रेष्ठ स्वदेश फिर्ता हुनुभएको छ । मेलबर्नमा उहाँको सम्मान र स्वगतमा आयोजना गरिएको कार्यक्रममा बोल्दै न्यायाधीश श्रेष्ठले नेपालमा महत्वकांक्षी संविधान बनेकोले यससँगै सबैको दायित्व समेत बढेको बताउनुभयो । प्रधानन्यायाधीश श्रेष्ठले नेपाललाई माया गरिरहने प्रवासी नेपालीहरुको यो माया सदा बढ्दै जाओस् भन्दै हरेक नेपाली विदेशमा सद्भाव दूत भएको प्रतिक्रिया दिनुभयो । श्रेष्ठको भनाई छ, आफ्ना हरेक क्रियाकलाप गर्दा सचेत हुनुपर्छ । यहाँ तपाईं एउटा व्यक्ति होइन, देशको प्रतिनिधि जस्तो हुनुहुन्छ । देशमा उत्पन्न कठीन परिस्थितिका विषयमा समूदायका प्रतिनिधिहरुको जिज्ञासामा उहाँले कानूनले, संविधानले कसैलाई विभेद गर्दैन । मानिसले व्यक्तिगत रुपमा एकले अर्कालाइृ त्यस्तो भेदभाव गरेको हुनसक्छ भन्दै सच्याउनुपर्ने बताउनुभयो । अहिले सर्वोच्चमा २१ हजार मुद्दा फस्र्यौट हुन बाँकी भएकोले त्यसलाई सल्टाउनु नै आफ्नो चुनौती भएको उहाँको भनाई छ । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले प्रधानन्यायाधीश श्रेष्ठलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो । केही दिन अघि सिड्नी र क्यानबेरामा आयोजित औपचारिक कार्यक्रमहरुमा सहभागी भइ श्रेष्ठ मेलबर्न हुँदै स्वदेश फर्कनुभएको हो । कार्यक्रममा बोल्दै महावाणिज्यदूत योञ्जनले एमआरपी लगायतका विषयमा पछिल्लो समय महावाणिज्यदूतको कार्यालयले गरेका कामहरुबारे जानकारी दिनुभएको थियो । उहाँले सबै मिलेर देशमा शान्तिको वातावरण ल्याउनु आजको आवश्यकता हो भन्दै यस्तो गर्न सके पर्यटक पनि आकर्षित भई देशले आर्थिक सम्बृद्धिको नयाँ चरणमा जाने मार्ग खेल्ने अपेक्षा गर्नुभयो । कार्यक्रममा एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल लगायत नेपाली समूदायका अन्य सदस्यहरु पनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा तिहारको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो । प्रधानन्यायाधीश श्रेष्ठको भ्रमण टोलीमा न्यायाधीश तिलप्रसाद श्रेष्ठ, रजिष्ट्रार श्रीकान्त पौडेल, उपसचिव तुल्सीप्रसाद गौतम, उपरजिष्ट्रार लालबहादुर कुँवर, सहसचिव बालकृष्ण तिवारी, शाखा अधिकृत पूजा खत्री लगायत हुनुहुन्थ्यो । श्रेष्ठले अष्ट्रेलियाका मुख्य न्यायाधीशसँग क्यानबेरामा भेट पनि गर्नुभयो ।