एनआरएन अष्ट्रेलिया कुम्भकर्ण भएको छैन, योजना बनाउँदैछौं : रेग्मी


एनआरएन अष्ट्रेलिया प्रवासी नेपालीहरुको साझा संगठन हो । यसलाई नेपाल र नेपालीको लागि समर्पित संस्थाको रुपमा मानिएपनि पछिल्लो समयमा एनआरएनले नेपालमा भारतीय नाकाबन्दीको विरोधमा केही पनि नगरेको भनेर आलोचना हुन थालेको छ । स्वयं एनआरएनको विभिन्न राज्यसमितिमा रहेका जिम्मेवार पदाधिकारीहरुले नै सार्वजनिक माध्यमबाट आफ्ना असन्तुष्टीहरु व्यक्त गरिरहेका छन् । उनीहरु एनआरएनलाई कुम्भकर्णको बात लाग्नसक्ने भन्दै सचेत पनि गराइरहेको पाइन्छ । यसैबीचमा, अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यपरिषद्का सचिव भुपाल सिटौलो पछिल्लो पटक सामाजिक सञ्जाल मार्फत नेतृत्वको ध्यनाकर्षण गराएपछि यो विषय सतहमा आएको छ । NRN Ausनेपालीका लागि भनेर प्रवासी नेपाली संगठित संस्थाले कुनै नेपालमा नेपालीलाई अप्ठेरो पर्दा नबोलेको आरोप एनआरएनमाथि लाग्ने गरेको छ । गत आइतबार ८ नोभेम्बरका दिन एनआरएन अभियन्ता भवानी ओलीले नेपालमा भएका परिवर्तनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेर एनआरएनलाई अघि बढ्न आह्वान गर्नुभएको थियो । उक्त आह्वानको भिडियो भाईरल बनेको अवस्था छ । अर्कोतर्फ, बेलायतमा मोदीको भ्रमणको बेला त्यहाँको नेपाली समूदायले विरोध गरेपछि त अन्य ठाउँमा पनि एनआरएनले नेपालमा गरिएको नाकाबन्दीको विरोध गर्नपर्ने आवाज मुखरित भएको छ । यद्यपि, बुधबार र बिहीबार एनआरएन अध्यक्ष शेष घले सहित उपलब्ध पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रीसँग भेट गरी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने भूमिकाका विषयमा छलफल गर्नुभएको छ । नेपालमा औषधिको समस्या पर्न थालेको अवस्थामा विश्वभरबाट एनआरएनले नेपाल औषधि पठाउने अभियान पनि चलाउन सरकाससँग औषधिको लिष्ट मागिएको छ । यसै प्रसंगमा हामीले एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीसँग प्रतिक्रिया लिएका छौं,
० एनआरएन त कुम्भकर्ण हुन लाग्यो भन्ने आरोप लाग्न सुरु भइसक्यो । नेपालमा त्यत्रो समस्या छ । नेपाली छटपटाईरहेका छन् । तर, आईसीसीले ज्ञापन पत्र बुझाउ, विरोध गर भन्दा पनि केही कार्यक्रम छैन किन ?
साथीभाईहरुले एनआरएनले केही पनि गरेन भन्ने कुरा गलत हो । म तपाईंलाई अलिकति पृष्ठभूमिसहित बताउन चाहन्छु । अहिले संसाभरिको एनआरएनमध्ये एनआरएन अष्ट्रेलियाले जस्तो कडा रुपमा खुलेर अरु कसैले, कुनै एनसीसी र आईसीसीले पनि विरोध गरेको छैन होला । त्यो हाम्रो विगतको विज्ञप्ति हेर्दा प्रष्ट हुन्छ । तर, यसबीचमा एनआरएनको विश्व सम्मेलन भएका कारण र चाडबाडका कारण हाम्रो कुनै क्रियाकलाप नदेखिएको हुनसक्छ । तर, नाकाबन्दीको विषयमा हामी छलफलमा छौं र चाँडै भारतीय दूतावास, कन्सुलेट अफिसहरुमा विरोधपत्र दिने तयारीमा छौं । यति मात्र होइन, यो विषयमा अष्ट्रेलिया सरकारको पनि ध्यानाकर्षण गराउँछौं ।
० कुम्भकर्ण हुन लाग्यो एनआरएन अष्ट्रेलिया भन्ने प्रतिक्रिया आयो नि ?
साथीभाईले कुम्भकर्ण भनेको आरोपमा मेरो सहमति छैन । तातै खाउँ जली मरौं गरेर हुँदैन । हामी छलफल गरिरहेका छौं । तयारी गरेर प्रक्रिया पुराएर कडा ज्ञापन पत्र बुझाउने योजना छ । यसअघि पनि भिक्टोरिया स्टेटबाट बुझाउँदा स्वयं कन्सुलेट जनरलले नबुझेर एक जना कर्मचारीले मात्र बुझेको अवस्था थियो । त्यसरी हैन, तयारी गरेरै हामी अघि बढ्छौ ।
० के गर्ने ? कसरी गर्ने भनेर कुनै कार्यक्रम बनिसकेको छैन ?
हामीले ओसेनिया क्षेत्रीय संयोजकसँग पनि छलफल गरिरहेका छौं । क्यानबेरा पुगेर भारतीय दूतावासमा ज्ञापन मात्र बुझाउन कुनै समस्या छैन । तर, यस्तो सम्भव भएन भने सिड्नीमा रहेको कन्सुलेट अफिसमा कडा ज्ञापन पत्र बुझाउनेछौं । यसमा कानूनविद्हरको समेत सल्लाह लिएर त्यस सम्बन्धी ध्यानाकर्षण गराउने र सकिन्छ भने अष्ट्रेलियाको मार्टिन प्लेसतिर एउटा समय लिएर विरोध प्रदर्शन नै गर्ने कार्यक्रम छ ।
० कहिले हुन्छ त यो विरोध कार्यक्रम ?
अहिलेसम्म चाडबाड नै भएका कारण, साथीभाई व्यस्त हुनुभयो । अर्को साताभित्रमा हामी कडा विरोधको कार्यक्रम गर्ने योजनामा छौं । कसैको कुनै देशको विरोध भन्दा भूपरिवेष्ठित राष्ट्रले पाउने पावहन सुविधा लगायतका सबै सुविधा निर्वाध दिनुपर्छ र भारतले सच्चिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।
० कुम्भकर्ण भयो भन्ने आरोपमा केही भन्नु छ तपाईंलाई ?
कुम्भकर्ण हो भन्ने कुरा चाहीँ मलाई सही लागेको छैन । प्रदर्शन गर्नलाई एक दुई दिन तलमाथि हुन सक्छ । तर, छिटो गरेर मात्र सोलुसन आउने होइन । यो दुई देशबीचको सम्बन्धको कुरा पनि हो । हामीले सल्लाह गरेर पूर्वतयारीका साथ कार्यक्रम गर्नुपर्छ । अष्ट्रेलियाको एनआरएन मात्र होइन, अन्य देशका साथीहरुसँग पनि मिलेर जानुपर्छ भन्ने हाम्रो कुरा हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?