सीमानाका बेलहियाबाट इन्धनसहितका तीन सय बढी गाडी नेपाल भित्रिए
रुपन्देहीको बेलहिया नाका (सुनौली)बाट इन्धनसहित मालबाहक साधन नेपाल आउने क्रम बढेको छ । साँझ ६ बजेसम्ममा बेलहिया नाकाबाट इन्धनका गाडीसहित झन्डै ३०० मालबाहक साधन नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाले दिएको जानकारीअनुसार साँझ ६ बजेसम्मा ३५ वटा डिजेल, २३ वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन् भने १९६ बटा मालबाहक ट्रक, ३१ वटा पिकअप भ्यान, २२ वटा पर्यटक सवार बस र अन्य ५९ वटा साधन नेपाल भित्रिएका छन् । दिनभर डिजल र एलपी ग्यासका साधन आए पनि पेट्रोलका गाडी भने आएका छैनन् । दिउँसो ४ बजेसम्म पाँचवटा एलपी ग्यासका बुलेट र आठवटा डिजलका गाडी आएको साँझ एकाएक इन्धनका गाडी नेपाल आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । सीमानाकामा कुनै पनि खालको अवरोध नभएपछि भारतीय पक्षले निर्वाधरुपमा मालबाहक साधन नेपाल पठाएको हो । शनिबार पनि २५० बढी गाडी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले आन्दोलनरत पक्षबाट सीमानाकामा अवरोध नभए इन्धनलगायतका गाडी निर्वाधरुपमा आउने जानकारी दिनुभयो । आजदेखि कपिलवस्तुका भन्सार नाका पनि सञ्चालन भएको कपिलवस्तु प्रशासनले जनाएको छ ।