मिले राप्रपाका तीन नेता नेतृत्वमा सिन्डीकेटको निर्णयपछि
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा र नेता लोकेन्द्रबहादुर चन्दबीच एकता भएको छ । कार्यकर्ताको दबाब, एकता महाधिवेशनको भावना एवम् समझदारीलाई स्वीकार्दै अब रहेको अध्यक्ष पदको पदावधिलाई तीन भागमा बराबरी बाँडेर पहिलोमा चन्द, दोस्रोमा राणा र तेस्रोमा डा प्रकाशचन्द्र लोहनीले अध्यक्षता ग्रहण गर्ने सहमतिका साथ एकता भएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दुवै नेताहरूले केन्द्रीयस्तरमा भएको टुटफुटले पार्टी तथा कार्यकर्ताको अस्तित्वमा सङ्कट आएकाले पार्टी एकताको खाँचो औँल्याउनुभयो । सो अवसरमा नेता चन्दले भन्नुभयो– “अहिलेसम्म हामी एक अर्कालाई तल पार्ने खेलमा छौँ, जो जिते पनि, हारे पनि पार्टी, कार्यकर्ता हार्छन् त्यसैले अब यो खेल रोक्नुपर्छ ।” मुलुकमा राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रका लागि नेपालीले दुःख कष्ट व्यहोर्न परेकामा चिन्ता व्यक्त गर्दै उहाँले सरकार र मधेस आन्दोलनकारीबीच वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । पार्टीका अध्यक्ष राणाले यथाशीघ्र बैठक बोलाइ आफूले राजीनामा दिएर सहमति भएअनुसार नेता चन्दलाई अध्यक्षता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।