दुई वर्षमा देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनैपर्ने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र आधिकारिक टे«ड युनियनको निर्वाचन गर्न र कर्मचारी प्रशासनमा देखिएको अराजकता नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । ‘निजामती सेवा पुरस्कार वितरण एवम् सेवा निवृत्त कर्मचारीको सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कार्यालय समयभित्र कुनै पनि राजनीतिक गतिविधि नगर्न र राज्यले दिएको रकमअनुसारको काम गर्न निर्देशन दिनुभयो । ‘‘जनताको काम नगर्ने, आफूखुसी गर्ने र कार्यालय
समयमा अन्य काम गर्ने प्रवृत्ति तत्काल अन्त्य हुनुपर्छ, अब चल्ते चलाते ढङ्गले निजामती प्रशासन चल्न सक्दैन, चल्नु पनि हुँदैन’’ प्रधानमन्त्रीले भन्नुभयो, “जनताको काममा संवेदनशील हुनैपर्छ, हामी त्यो चाहन्छौँ, अब कुनै पनि बहानाबाजीलाई स्वीकार गर्न सकिँदैन ।’’ केही महिनाभित्र नयाँ सरकार गठन भएको अनुभूति जनताले गर्नैपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आवश्यकता र चाहनालाई आत्मसात् नगर्ने र जनताको काम गर्न साइत नै हेर्नुपर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो ‘‘जनताको काम गर्न अब साइत हेर्नु पर्दैन, अब कुनै पनि काममा ढिला ढाला गर्न पाइँदैन, मिल्दैन ।’’
एक वर्षमा विद्युत्भार कटौती
प्रधानमन्त्रीले आगामी एक वर्षभित्र विद्युत्भार कटौती गर्ने ध्येयका साथ सरकार लागिपरेको उल्लेख गर्दै निर्माणाधीन जलविद्युत् आयोजना, सौर्य ऊर्जा र वैकल्पिक ऊर्जाका माध्यमबाट मुलुकलाई एक वर्षभित्र विद्युत्भार कटौती हटाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । वर्तमान सरकार दिन, महिना र वर्ष गुजार्न आएको नभई काम गर्न आएकाले जनतालाई प्रत्यक्षरुपमा राहत दिन विद्युत् सेवा सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
दुई वर्षभित्र जलविद्युत्बाटै विद्युत्भार कटौती गरिने उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यका विद्युतीय सवारीसाधन चलाउने र पेट्रोलियम पदार्थको खपत घटाउने योजनामा सरकार रहेको बताउनुभयो ।
दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर
प्रधानमन्त्री ओलीले आगामी दुई वर्षभित्र कुनै पनि अर्थमा खाद्यान्नमा मुलुक आत्मनिर्भर बन्नैपर्ने बताउँदै आफूले मन्त्री, सचिव तथा सम्बद्ध अधिकारीलाई सोही दिशामा काम गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले किसानलाई अनुदान दिएर वा लगानी बढाएर कृषि उत्पादन बढाउनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो ‘‘अहिले किसानले धान बेच्ने समय हो, उनीहरुलाई राहत दिने गरी धानको समर्थन मूल्य तोकिदिएहुन्छ, अहिले सस्तोमा विदेशीलाई बेच्ने र भोलि महँगोमा किन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’’ उहाँले दुग्ध उत्पादन बढाउन र दुग्ध बिदा गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने स्पष्ट पार्नुभयो । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रलाई तरकारी र फलफूल मुख्य क्षेत्र घोषणा गरेर जाने तयारीमा सरकार रहेको उहाँको कथन थियो ।
संविधानले सबैलाई अधिकार दिएको छ
नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले शान्ति प्रक्रिया पूरा भएको, राजनीतिक सङ्क्रमण अन्त्य भएकाले अब मुलुक आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने स्पष्ट पार्नुभयो । सो अवसरमा सामान्य प्रशासनमन्त्री रेखा शर्माले संविधानको सहज कार्यान्वयन, निजामती सेवा र प्रशासनको सङ्घीय ढाँचामा रुपान्तरण र जनतालाई प्रभावकारी सेवाको अनुभूति दिलाउनुपर्ने बताउनुभयो । मुख्य सचिव डा सोमलाल सुवेदीले जनतालाई प्रभावकारी सेवा दिन कर्मचारी प्रशासन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयोे ।