अरनिको राजमार्ग पुरानै ठाउँबाट खुल्यो, आजदेखि यातायात सञ्चालन


सिन्धुपाल्चोकको राम्चे–५ जुरेको पहिरोले क्षति पु¥याई अवरुद्ध अरनिको राजमार्गबाट कन्टेनर मालवाहक भ्यान सञ्चालन भएको छ । छोटो दुरीको साविककै ठाउँबाट ट्रयाक खोल्न सुरु गरिएको सडकबाट ३२ दिनको प्रयासपछि व्यवसायीले मालवहाक भ्यान काठमाडौं जान लागेका हुन् । नेपाली सेनाले खोल्न लागेको बाँधस्थलदेखि टेकानपुर, धुस्कुन हँुदै बाह्रविसे जाने वैकल्पिक ट्रयाक लामो र ढिला हुने भन्दै नेपाल उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकको पहलमा व्यापारीहरुले साउन मसान्तदेखि खन्न सुरु गरेको सो सडक बाँधस्थलदेखि बाह्रबिसेसम्म तीन किमी मात्र पर्दछ । सेनाले खोलेको ट्रयाक ११ किमी पर्दछ भने सुनकोसी नदीको बेलिब्रिजको काम अझै सुरु हुन सकेको छैन । नेपाल उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सिमापार वाणिज्य सङ्घ, नेपाल ट्रक कन्टेनर सङ्घ मध्यभोटेकोसी जलविद्युत आयोजनालगायतको लगानीमा ट्रयाक खुलाइएको हो ।वैकल्पिक ट्रयाकको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले आज उद्घाटन गर्नुभयो । अध्यक्ष पाण्डेले पहिरोले अवरुद्ध सडकको ट्रयाक व्यवसायीहरूले ३२ दिनको प्रयासपछि खोलिएको ट्रयाकको आज बाह्रबिसेतर्फको भागबाट उद्घाटन गर्नुभएको हो । ‘सडक खोल्ने काम राज्यको दायित्व भए पनि सरकारले त्यति चासो नदिएको बताउँदै अध्यक्ष पाण्डेले व्यवसायी अग्रसर भएपछि छोटो समयमा सडक सञ्चालनमा आएकामा खुसी व्यक्त गर्दै अरनिको राजमार्गलाई विशेषरुपमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । खुलाइएको ट्रयाकबाट दुई दिनअघि परीक्षणको रुपमा मालवहाक गाडी बाह्रबिसेबाट पठाइएकामा सफलतापूर्वक लामोसाँघु उत्रिएको थियो । खोलिएको ट्रयाकमा ठाउँ ठाउँमा सोलिङ र ग्राभेलिङ गरिएको छ । सुरुमा ७५ लाखको लगानीमा खोल्न सुरु गरिएको उक्त ट्रयाकमा विभिन्न प्राविधिक कठिनाइ आइपरेपछि लागानी बढेर रु एक करोड ७५ लाख पुगेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष वुद्धराज बस्नेतले जानकारी दिनुभयो । ट्रयाक खुलेपछि बाह्रबिसेमा विगत ४६ दिनदेखि अलपत्र अवस्थामा रहेका १०० मालवहाक भ्यान आजै काठमाडौँ भित्रिने बस्नेतले जानकारी दिनुभयो । सुनकोसीको कृतिम ताल खेलेर नदीको धारले कटान गरेपछि अवरुद्ध कोठेको सडक पनि हिजोबाट खुलेको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको फुल्पिङडाँडा गाविसको कोठे खण्डमा २६ गतेदेखि अवरुद्ध सडक खुल्ने र बन्द हुने क्रम जारी रहे पनि हिजोदेखि पुनः यातायात सञ्चालन भएको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो । पानी पर्ने क्रम नरोकिएकाले छिनछिनमा पहिरो लाग्ने हुँदा पन्छाएर यातायात सुचारु गरेको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा काठमाडौंँदेखि तातोपानीसम्मको सम्पर्क विच्छेद हुनुका साथै सिन्धुपाल्चोक भएर दोलखा र रामेछापका यात्रुसमेत मर्कामा परेका थिए । गत साउन १७ गते गएको पहिरोले सुनकोसी थुनेर अरनिको राजमार्गलाई क्षति पु¥याएपछि व्यवसायीका करिब रु आठ अर्ब मूल्यका चिनियाँ सामान रोकिएर बसेका छन् । सामान भरिएका ५०० कन्टेनर भ्यान तातोपानी भन्सार परिसर र खासा क्षेत्रमा १०० मालवहाक भ्यान रोकिएर बसेका छन् । त्यसैगरी, तिब्वतको गोदाममा ८०० भ्यान बराबरको मौज्दात चिनियाँ सामानसमेत रोकिएको बस्नेतले बताउनुभयो । चिनियाँ सामान बिक्री हुने मुख्य समयमा डेढ महिनादेखि तयारी पोसाक, जुत्ता, स्याउ, विद्युतीय सामग्रीलगायतका सामान रोकिँदा मर्कामा परेको व्यापारीहरु बताउँछन् । गत वर्ष रु १७ अर्ब मूल्य बराबरको चिनियाँ सामान आयात भएको थियो । सडक अवरुद्धले व्यापारी मात्र नभई भन्सार राजस्वसमेत घाटा भएको छ । यो अवधिमा तातोपानी भन्सारमा झन्डै रु एक अर्बभन्दा बढी राजस्व घाटा भएको भन्सार कार्यालय तातोपानीले जनाएको छ । दसैंँको समयमा चिनियाँ सामान भित्रिने मुख्य समय भएकाले दैनिक रु तीन करोडसम्म राजस्व सङ्कलन हुने गरेको तातोपानी भन्सारले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?