सकियो राप्रपा नेपालको बैठक, पृथ्वी नारायण शाहको जन्मदिनमा बिदा दिन माग
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय परिषद् बैठकले पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन र सो दिन सार्वजनिक बिदा समेत दिन माग गरेको छ । बैठकले दुई महिनादेखि भारतबाट अघोषित नाकाबन्दीका कारण जनतालाई कष्ट भएको ठहर गर्दै नेपालको पारवहन अधिकारलाई कायम गर्न नेपाल र भारतबीच कूटनीतिकरुपमा समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । मङ्सिर ६ गतेदेखि सुरु भई आज सम्पन्न भएको बैठकले पार्टीका वडा तहदेखि जिल्ला तहसम्मका सम्पूर्ण समिति विघटन गरेको पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो । मधेसमा भइरहेको आन्दोलनकारीको माग समाधान गर्न हाल कायम भएको भौगोलिक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसङ्ख्याका आधारमा संसद्को निर्वाचन क्षेत्र निर्धारण गर्न बैठकले सकारात्मक सैद्धान्तिक सहमति दिएको छ । मधेस आन्दोलनलाई राजनीतिक सहमति कायम गरी संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आन्दोलनकारीलाई वार्ता र छलफलबाट समस्या समाधान गर्न बैठकले सुझाएको पार्टीका अध्यक्ष कमल थपाले जानकारी दिनुभयो । भूकम्प पुनःनिर्माण प्राधिकरण चाँडो गठन गर्न तथा मधेस आन्दोलनमा मृत्यु भएका राम मण्डललाई सहिद घोषणा गर्न माग गरेको छ । त्यस्तै पार्टीका तत्कालीन महामन्त्री स्व चन्द्रबहादुर गुरुङको आत्माको चिरशान्तिको कामना गर्दै शोक प्रस्ताव पारित गरेको छ ।