देशको खेलकुदमा गैरआवासीय नेपालीले पनि योगदान दिन चाहन्छ : घले
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० नेपाल ओलम्पिक कमिटी ९एनओसी० बीच आज सम्झौता भएको छ । नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजित कार्यक्रममा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनका तर्फबाट अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार अबदेखि नेपालमा चलिरहेको ओलम्पिक अभियानको साझेदारका रुपमा गैरआवासीय नेपाली सङ्घ रहनेछ । सो अवसरमा एनआरएन स्थापना दिवस अक्टोबर ११ तारिखका दिन ओलम्पिक कमिटीले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी समेत दिइएको थियो । यसैगरी, गैरआवासीय नेपाली सङ्घले क्षमतावान् केही खेलाडीको वैदेशिक प्रशिक्षण र खेलकुद प्रतिस्पर्धाका आवश्यक सामग्री उपलब्ध गराउने, दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुद प्रतिस्पर्धामा सहभागी खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने, नेपाली खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि दाता तथा बहुराष्ट्रिय कम्पनीको खोजी गर्नेलगायत सहमती भएको छ । सङ्घका अध्यक्ष घलेले एनओसीसँगको सम्झौताले नेपाली र दोस्रो पुस्ताका गैरआवासीय नेपालीबीचको सम्बन्ध सुमधुर बनाउने बताउँदै नेपाली खेलाडीले क्षमता नभएरभन्दा पनि उपयुक्त प्रशिक्षण र अवसर नपाएर उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । कार्यक्रममा कमिटीका अध्यक्ष श्रेष्ठले खेल क्षेत्रमार्फत राष्ट्रको शिर उँचो बनाउने आफूहरुको अभियानमा गैरआवासीय नेपाली सङ्घले साथ दिएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा एनआरएनका अध्यक्ष घलेलाई नेपाल ओलम्पिक कमिटीको मानार्थ सदस्यता प्रदान गरिएको थियो । रासस