कसैलाई एक्ल्याएर अघि बढ्ने पक्षमा नरहेको प्रधानमन्त्रीबाट स्पष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा सबै मिलेर देश बनाउन लाग्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ सङ्घीय समावेशी मधेसी मोर्चाको ज्ञापनपत्र बुझ्दै उहाँले अहिलेको समयमा आन्दोलनले कसैलाई फाइदा नपुग्ने बताउँदै उहाँले समस्या समाधानका लागि सबै पक्ष जिम्मेबार हुनुपर्नेमा जोड दिनुभयो ।
जनसङ्ख्याका आधारमा प्रतिनिधित्व माग
प्रधानमन्त्री ओलीले आन्दोलनरत कुनै पनि पक्षलाई एक्ल्याएर हिँड्ने पक्षमा आफू नरहेको र राष्ट्रहितका लागि आवश्यक जेसुकै गर्न पनि तयार रहेको मोर्चालाई बताउनुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो । रिमालका अनुसार मोर्चाले प्रधानमन्त्री समक्ष यसअघि सार्वजनिक गरेको नौबुँदे माग बुझाएको हो । उक्त मागमा जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, प्रदेश सीमाङ्कनलगायत विषय छन् । मोर्चामा शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक), अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र जयप्रकाश गुप्ता नेतृत्वको तराई–मधेस राष्ट्रिय अभियान आबद्ध छन् । मोर्चा आबद्ध पार्टीका प्रमुखसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।