इन्धन अभावका कारण उपत्यकाका पाँच सडक अलपत्र


kathmandu roadइन्धन अभावका कारण उपत्यकामा विस्तार भइरहेका पाँचवटा सडकको काम अलपत्र परेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । असोजदेखि सुरु भएको भारतको अघोषित नाकबन्दीले बजारमा डिजेल नपाइँदा सिनामङ्गल–बागबजार चार किमी, शोभा भगवती–डल्लु दुई किमी, जडिबुटी–पेप्सीकोला हुँदै मनोहरा पुल २.२ किमी, त्रिभुवन विश्वविद्यालयको मुख्यद्वारदेखि नयाँबाटोसम्मको एक किमी र बुढानीलकण्ठदेखि विष्णुमतीसम्मको ८०० मिटर सडक विस्तारको काम सकी ग्राभेल ओच्छ्याएर पनि कालोपत्र गर्न नसकिएको आयोजना प्रमुख मनोज श्रेष्ठले बताउनुभयो । “यी सडकको काम गर्नका लागि आयोजनालाई दैनिक १२ हजार लिटर डिजेल चाहिन्छ, अहिले १० लिटर तेल लिनका लागि हप्तादिनसम्म लाममा बस्नुपर्छ, डिजेल पाएको भए यी पाँच सडकको कालोपत्र दसैँ अघि नै भइसक्ने थियो,” आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो । ठेकेदारले आफैँ भारतबाट डिजेल ल्याएर कालोपत्र गर्न खोजेपनि सम्भव नभएको आयोजनाले जनाएको छ । यी सडक सम्पन्न गर्न तोकिएका म्याद पटकपटक थपेर काम अन्तिम चरणमा पु¥याउँदा पनि डिजेलको अभावका कारण अलपत्र भएको आयोजनाका इन्जिनीयर वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?