भारतीय नाकाबन्दीको विरोधमा अष्ट्रेलियाको संसद र राष्ट्रसंघीय कार्यालयबाहिर एनआरएनको प्रदर्शन
एनआरएन अष्ट्रेलियाको आह्वानमा अष्ट्रेलियाका विभिन्न राज्यबाट राजधानी क्यानबेरामा भेला भएका नेपाली समूदायका अगुवाहरुले संसद भवन अगाडि प्रदर्शन गरेका छन् । करिब डेढ घण्टा संसद भवन बाहिर नाराबाजी गर्दै भारतीय हस्तक्षेपको विरोध गरेका उनीहरुले संयुक्त राष्ट्रसंघीय कार्यालय, भारतीय दूतावास र नेपाली दूतावासमा पनि प्रदर्शन गरेका थिए । भूपरिवेष्ठित नेपालमाथि अघोषित नाकाबन्दी लगाएर भारतले मानवीय संकट निम्त्याएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए । समुद्रसम्म पुग्ने नेपालको अधिकार हो, नाकाबन्दी तुरुन्त हटा लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा सहभागी भएका थिए । करिब २ सय नेपाली सहभागी भएको यस प्रदर्शनले नेपालको समस्यालाई अष्ट्रेलियामा रहेका दलहरु, सरकार र अन्तर्राष्ट्रिय नियोगसम्म जानकारी पुगेको छ भने उनीहरुले पनि मानव अधिकार र भूपरिवेष्ठित मुलुकले पाउने अधिकारको बारेमा आवाज उठाउने आश्वासन दिएका छन् । सबै निकायमा एनआरएन अष्ट्रेलियाको अगुवाईमा पुगेका नेपाली समूदायका सदस्यहरुले अष्ट्रेलियाका विभिन्न राज्यबाट संकलन गरिएको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । भारतीय दूतावासले भने ज्ञापनपत्र बुझ्न मानेन । “माथिबाट नै ज्ञापन नलिनुभन्ने आदेश आएको भन्दै दूतावासका कर्मचारी सम्पर्कविहीन बनेका थिए ।” सिग्देलले भन्नुभयो -“अब भारतीय दूतावासमा हुलाकमार्फत रजिष्ट्रि चिठ्ठी पठाउने तयारी गरिएको र यसो गर्दा उनीहरुले त्यो चिठ्ठी बुझनुपर्ने हुन्छ । हामीले दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा गरिएको नाकाबन्दी तत्काल अन्त्य गर्न अनुरोध गरेका थियौं । तर, उहाँहरुले लिन मान्नुभएन ।”
नेपालीहरुले संसद भवन अगाडि नाराबाजी र प्लेकार्डसहित प्रदर्शन गरिरहँदा कैयौं सांसदहरुले चासोपूर्वक हेरेका थिए भने उनीहरुले स्वयं कार्यक्रमस्थलमा समेत आएर प्रदर्शनका विषयमा जानकारी लिएका थिए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सिग्देलले नेपालभित्रको समस्या वार्ता र सम्वादको माध्यमबाट शान्तिपूर्ण रुपमा समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत पत्र पठाइएको बताउनुभयो । राजदूत रुद्र नेपाललाई क्यानबेरास्थित नेपाली दूतावासमै पुगेर एनआरएनको टोलीले भेटेको थियो । यसको जवाफमा राजदूत नेपालले विदेशमा रहेका नेपालीले देशको बारेमा गर्नुभएको चिन्ता एकदमै जायज हो भन्दै छिटोभन्दा छिटो सम्बन्धित ठाउँमा पत्र पुर्याउने आश्वासन दिनुभएको थियो ।
एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीका अनुसार अष्ट्रेलियाका विभिन्न राज्यमा गरिएको प्रदर्शन र संकलित हस्ताक्षरसहित बुझाइएको ज्ञापनपत्र बुझ्दै प्रतिपक्षी लेबर पार्टीका छायाँ विदेशमन्त्रीका प्रतिनिधि निना डेनोनले समस्याको गम्भीरतालाई ध्यान दिँदै आफुहरुले कदम चाल्ने बताएकी थिइन् । उनलाई एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देल र एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले नेपालमा अहिलेको स्थितिका बारेमा जानकारी दिनुभएको थियो ।
यस्तै विपक्षी लेबर पार्टीका प्रमुख बिल सर्टनका प्रतिनिधित्व गर्दै आएकी छायाँ बहुसंस्कृति मन्त्री मिशेल रोल्याण्डले ज्ञापनपत्र बुझेकी थिइन् । उनलाई अध्यक्ष सिग्देल प्रवक्ता डा. रेग्मीले विरोध गर्नुको कारण, नेपालमा अहिले भइरहेको अवस्थाका बारेमा अवगत गराउनुभएको थियो । यसलाई अष्ट्रेलियाको संसदमा उठाइदिन र अन्तर्राष्ट्रिय समूदायले भारतलाई तत्काल अघोषित नाकाबन्दी अन्त्यका लागि दबाब दिन गरिएको आग्रहमा रोल्याण्डले नेपालीको पीडामा सदैव साथ रहेको भन्दै यस विषयलाई छिटोभन्दा छिटो अघि बढाउने आश्वासन दिएकी थिइन् । यसैगरी, संयुक्त राष्ट्रसंघको क्यानबेरास्थित कार्यालय बाहिर नाराबाजीसहित प्रदर्शन गरेका नेपाली समूदायको प्रतिनिधित्व गर्दै एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले प्रतिनिधिहरुसँग भेट गरी नेपालका विषयमा संयुक्त राष्ट्रसंघले अहिलेसम्म उठाएका कदमको प्रशंसा गर्दै गम्भीर कदम तत्काल नचाले मानवीय संकट अझ गहिरिने विषयमा ध्यानाकर्षण गराएको थियो । उनीहरुले महासचिवलाई सम्बोधन गरेर दिइएको ज्ञापनपत्र उहाँसम्म छिटोभन्दा छिटो पुग्ने आश्वासन दिएका छन् ।
यसलगत्तै फेरि संसद भवनमा पुगेर विदेशमन्त्री जुली विशपलाई ज्ञापनपत्र बुझाइएको थियो । संसद चलिरहेका कारण उनका सल्लाहकार ह्यारी गिनिजले ज्ञापनपत्र बुझेका थिए । यसरी विदेशमन्त्रीलाई ज्ञापन बुझाउन नागरिक समाजका अगुवा डा. होममूर्ति पन्त, भवानी ओली, एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देल, प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी, नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौला लगायत पुगेका थिए । भित्र विदेशमन्त्रीको सल्लाहकारसँग टोलीले आग्रह गर्दा सल्लाहकार गिनिजले अष्ट्रेलिया मानवअधिकारलाई पहिलो स्थानमा राख्ने देश भएका कारण यस्तो गम्भीर विषयमा छिटोभन्दा छिटो कदम चाल्ने आश्वाससन दिएका थिए ।
क्यानबेरामा भएको प्रदर्शनका लागि अष्ट्रेलियन क्यापिटल टेरोटोरीका एनआरएन संयोजक युवराज खनियाँले संयोजन गर्नुभएको थियो । मेलबर्नबाट संयोजक केशव कँडेल, एनआरएन आईसीसी सदस्य ऋषि कँडेल, अगुवा जोग लिम्बु लगायतको टोली ८ घण्टाको यात्रा गरी प्रदर्शनमा सहभागी भएको थियो । यस्तै एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलको नेतृत्वमा सिड्नीबाट पनि ठूलो संख्यामा नेपाली प्रदर्शनमा सहभागी हुन ४ घण्टाको यात्रा गरी क्यानबेरा पुगेका थिए । यस्तै ब्रिसबेन, पर्थ, एडिलेड, डार्विन लगायतका ठाउँमा संकलित हस्ताक्षर पनि क्यानबेरा ल्याइएको थियो । प्रदर्शनपछि कुरा गर्दै एनआरएन न्यूसाउथवेल्सका संयोजक पोखरेलले आफुहरु भारतीय हस्तक्षेपका विषयमा अष्ट्रेलियाको राजनीतिक तहमा जानकारी गराउन सफल भएको बताउनुभयो । पोखरेलले भन्नुभयो, “यो सुरुवात हो, जबसम्म नेपालको नाकाबन्दी अन्त्य हुँदैन तबसम्म हामी केही न केही स्वरुपमा यसको विरोधका कार्यक्रम गरिरहनेछौं ।” कार्यक्रममा सहभागी हुनुभएका एनआरएन युथ कोअर्डिनेटर विजय पोखरेलले भन्नुभयो, “आजको कार्यक्रमबाट हामी निकै उत्साही छौं । विश्वभरि रहेका युवाहरुलाई म यसैगरी अनुशासित भएर, शान्तिपूर्ण रुपमा अन्तर्राष्ट्रिय समूदायको ध्यानकर्षण गराउन आग्रह गर्दछु ।”
(क्यानबेराबाट सहकर्मी प्रदिप तिमल्सिनाको सहयोगमा) थप तस्वीरको लागि हाम्रो फेसबुक पेज हेर्नुहोला । प्रदर्शनको भिडियो यस्तो छ । https://www.facebook.com/MNTVAustralia/videos/1025829770814203/?l=2143768007245701601