बालुवाटारमा शीर्ष नेताहरु कुरेर बस्दा मधेशी पुगे लाजिम्पाट भारतीय दूतावासमा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु प्रधानमन्त्री निवासको सट्टा भारतीय दूतावास गएपछि निर्णायक भनिएको वार्ता स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोर्चाको मागमा सम्बन्धमा छलफलका लागि शुक्रबार अपरान्ह पाँच बजे बालुवाटारस्थित आफ्नै निवासमा राखेको वार्तामा अनुपस्थित भएर मोर्चाका नेताहरु भारतीय दूतावास गएपछि वार्ता नै स्थगित भएको हो । वार्ताका लागि प्रमुख दलका शिर्ष नेताहरु भने पाँच बज्नु पहिले नै प्रधानमन्त्री निवास पुगेका थिए । प्रधानमन्त्री ओलीसहित प्रमुख दलका शिर्ष नेताहरुले व्यग्र प्रतिक्षा गरिरहेका मोर्चाका नेताहरु भने प्रधानमन्त्री निवासको सट्टा प्रधानमन्त्री निवासबाट दुई किलोमिटरको दूरीमा रहेको भारतीय दूतावास पुगे । उनीहरु भारतीय राजदूत रञ्जित रेको निम्तोमा प्रधानमन्त्रीले बोलाएको वार्ता छोडेर भारतीय दूतावास गएका हुन् । मोर्चाका नेताहरु अनुपस्थित भएपछि प्रमुख दल र मोर्चाको निर्णायक भनिएको वार्ता हुन सकेन । प्रमुख तीन दलले प्रदेशको सीमांकन हेरफेरका विषयमा समझदारी जुटाउन तीन महिनाको समय दिइ राजनीतिक समिति बनाउने र अघिल्लो सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकलाई मोर्चा संगको सहमतिमा अगाडि बढाउने समझदारी गरेका छन् । प्रमुख दलको यो समझदारीलाई अढाइ महिनादेखि नाकाबन्दी गरिरहेको भारतले समेत सकारात्मक रुपमा लिएपछि सीमांकन हेरफेरका विषयमा तत्काल निर्णय हुनुपर्छ भनेर अड्डी लिंदै आएका मोर्चाका नेताहरु भारतीय दूतावास पुगेका हुन् ।