म्याच फिक्सिंगमा संलगन सागर थापासहित ५ खेलाडीलाई आजीवन प्रतिबन्ध लगाउने एएफसीको निर्णय
अन्तर्राष्ट्रिय खेल मिलेमतोको अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्वखेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई एसियाली फुटबल महासंघ ९एएफसी० ले शुक्रबार आजीवन प्रतिबन्ध लगाएको छ । एएफसीको अनुशासन समितिको यस निर्णयसँगै उनीहरूको फुटबल गतिविधिमा पूर्णविराम लागेको छ ।
प्रहरीद्वारा २७ असोजमा पक्राउ परेका पाँचै जनालाई एएफसीले त्यसको भोलिपल्टै फुटबलका सबैखाले गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । ‘यससँगै म्याच फिक्सिङविरुद्ध एएफसीको रणनीति टुंगोमा पुगेको छ,’ अनुशासन समितिले विज्ञप्तिमार्फत भनेको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० मा निरन्तर २१ वर्ष नेतृत्व गरेका गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० को इथिक्स कमिटीले १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रयांक जरिवाना गरेको एक महिनाभित्रै एएफसीले यस्तो कारबाही गरेको हो ।
अन्जन, सागर, रितेश, विकाससिंह र सन्दीप सन् २००८ देखि २०१२ सम्मका थुप्रै मैत्रीपूर्ण खेलमा फिक्सिङ गरेकाले आजीवन प्रतिबन्ध लगाइएको एएफसीले जनाएको छ । ‘एएफसीले पार्टनर स्पार्टस् राडारसँगै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र यूईएफए ९युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स० को इन्टिग्रिटी युनिटसँग समन्वयमा एक वर्ष अनुसन्धान गरेपछि आजीवन प्रतिबन्ध लगाइएको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘एएफसीले म्याच फिक्सिङविरुद्ध शून्य सहनशीलता अपनाउँछ । यसको नियन्त्रण, अनुसन्धान र प्रतिक्रियामा ३६० डिग्रीको कोणबाट हेरिन्छ ।’ समितिले ताजिकिस्तानी रेफ्री मुर्ताजोएभ परविजलाई पनि म्याच फिक्सिङ गराउन खोजेको आरोपमा आजीवन प्रतिबन्ध लगाएको छ ।
६ वर्षयता राष्ट्रिय टिमको कप्तानी गर्दै आएका सागरसहित पाँचै जनाविरुद्ध प्रहरीले विशेष अदालतमा दर्ता गरेको ‘राज्यद्रोह’ को मुद्दा चलिरहेको छ । उनीहरूलाई विशेष अदालतले २४ कात्तिकमा धरौटीमा छाडेको थियो । उनीहरूलाई नेपाली राष्ट्रिय टिमको आठ खेलमा हार्नका लागि विश्वकका कुख्यात ‘म्याच फिक्सर’ हरूबाट निरन्तर रकम लिएको अभियोग छ । विशेषगरी निश्चित गोल, त्यो पनि अन्त्यतिर बेहोर्ने सर्तमा उनीहरूले लाखौं डलर लिएको प्रहरीको दाबी छ ।
म्याच फिक्सिङमा प्रायस् गोलकिपर र डिफेन्स संलग्न हुन गरेको पाइएको छ । रितेश गोलकिपर हुन् भने अरू चार खेलाडीका रूपमा डिफेन्डर । सागरबाहेक अरू चार फुटबलर एन्फा एकेडेमीद्वारा उत्पादित हुन् । सागरले २००३ मा भएको एसिया कप छनोटबाट सागरले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले नेपालका लागि कीर्तिमान ६४ खेल खेलेका छन् । रितेशले पनि त्यही छनोटमार्फत राष्ट्रिय टिममा प्रवेश पाएका थिए । सन्दीपले २००८ देखि ४९ क्याप जितेका छन् । विकाससिंहले पनि २००८ देखि केही वर्ष राष्ट्रिय टिमबाट खेलेका थिए । राष्ट्रिय टिमबाट तीन वर्ष ९२००५–०८० खेलेका अन्जन गत वर्ष थ्रीस्टारका प्रशिक्षक थिए ।
Source : Kantipur Daily