भक्तपुरमा चार वटा नगरपालिकामा ११ जनाले दिए मेयरका लागि उम्मेदवारी


वैशाख ११, भक्तपुर । भक्तपुरको चार वटा नगरपालिकाहरुमा मेयर पदका लागि पहिलो दिन आइतबार ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने पहिलो दिन जिल्लामा ११ जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यायल भक्तपुरले जानकारी गराएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम दर्ता गर्ने पहिलो दिनमा जिल्लाका ४ वटा नगरपालिकाहरुमा ११ जना प्रमुखका आकांक्षीहरुले सम्बन्धित नगरपालिकाको निर्वाचन कार्यालयमा नाम दर्ता गरेका हुन् ।
भक्तपुर नगरपालिकाको निर्वाचन कार्यालयमा तीन जनाले प्रमुख, १ जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् भने ८ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

मध्यपुर थिमि नगरपालिकाको निर्वाचन कार्यालयमा ४ प्रमुख १ उपप्रमुख १ वडाध्यक्ष र २ वडा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी चाँगुनारायण नगरपालिकामा २ प्रमुख १ उपप्रमुख २ वडाध्यक्ष र सूर्यविनायक नगरपालिकामा २ प्रमुख २ वडाध्यक्षले नाम दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्कोटाले जनाए । उनका अनुसार जिल्लामा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दलहरु आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्तामा रहेका छन् ।
पहिलो दिन सतारुढ गठबन्धन, नेकपा एमाले, स्थानीयस्तमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीबाट कसैले पनि उम्मेदवारी दर्ता गराएनन् ।

पहिलो दिनमा उम्मेदवारी दर्ता गर्नेको संख्या कम भएसँगै दोस्रो दिन भीड हुने आंकलन गरिएको छ । आचारसंहिता पूरा गरी आउनेलाई उम्मेदवारी दर्ताका लागि भोलि सोमबार बिहानदेखि नै कर्मचारी परिचालन गरिएको उनले बताए । भीड हुन नदिन कार्यालय समय अगाडिबाटै दर्ता प्रकृया थाल्न पनि तयार भएको उनले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?