दुई वर्षभित्रै देशको पहिलो पार्टी बन्ने नयाँ शक्तिको योजना


devendraपूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अगुवाइ गर्नुभएको ‘नयाँ शक्ति’ अभियानमा लाग्नुभएका नेता देवेन्द्र पौडेलले नयाँ शक्ति दुई वर्षभित्र देशकै पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । ‘पुराना पार्टीले’ अहिलेको अवस्थाको समाधान गर्न नसक्ने दाबी गर्दै पौडेलले बदलिँदो परिवेशमा देशलाई आवश्यक नेतृत्व प्रदान गर्दै नयाँ शक्ति अभियानले पार्टीको रुप लिने बताउनुभयो । गोरखामा नयाँ शक्ति उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले “एक वर्षभित्र काँग्रेस, एमाले जस्तै हैसियतमा पुग्ने र दुई वर्षभित्र नेपालकै प्रमुख पार्टी भएर देखाउँछौँ”– भन्नुभयो । नयाँ शक्ति अभियानमा गाउँ गाउँका जनतालाई सहभागी गराउन निर्देशन गर्दै पौडेलले ‘बाबुरामलाई अल्झाउनेको घेरा तोड्न’ आग्रह गर्नुभयो । नयाँ शक्तिको गोरखामा आयोजित गोप्य भनिएको भेलाका अधिकांश सहभागी गोरखा घर भई हाल रोजगारीको सिलसिलामा काठमाडौँलगायत देशका विभिन्न सहरमा बसोबास गर्दै आएका छन् । करिब ५०० जना उपस्थित भएको भेलामा गाउँ गाउँबाट पनि पूर्वमाओवादी सहभागी छन् । भेलाले रमेश पोखरेल संयोजक रहनेगरी गोरखामा अभियान चलाउने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?