विजुक्छेको नेपाल–भारत सम्बन्ध र भारत पुस्तक, भारत विस्तारवादी नीतिमा रहेको आरोप
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेद्वारा लिखित ‘नेपाल भारत सम्बन्ध र भारत’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जनप्रकाशन गृहद्वारा प्रकाशित उक्त पुस्तकको द्धितीय संस्करणको सार्वजनिक गरिएको हो । कार्यक्रममा लेखक विजुक्छेले स्वार्थी र अयोग्य भएकै कारण नेपाली नेताहरू भारतसँग झुकेको बताउँदै नेपाललाई जोगाउनयोग्य नेता आवश्यक भएको कुरा पुस्तकमा रहेको चर्चा गर्नुभयो । भारतसँगको अहिलेको लडाइ सुविधा पाउनका लागि भएको बताउँदै उहाँले नेपालका विगतका प्रधानमन्त्रीहरूले गल्ती गरेकै कारण आज नेपाल आत्मनिर्भर हुन नसकेको जिकिर गर्नुभयो । कार्यक्रममा सांसद अनुराधा थापामगरले भारतीय विस्तारवाद र नाकाबन्दीको विश्वव्यापी विरोध भइरहेको बताउँदै यसको संसद् र सदन दुवैबाट विरोध भइरहने बताउनुभयो । पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशी, नेक्राविसङ्घका पूर्व अध्यक्ष सरोजराज गोसाईं, सङ्घका अध्यक्ष निरज लवजु, सङ्घका केन्द्रीय सदस्य दीपेन्द्र साहीलगायतले पुस्तकको समीक्षा गर्दै भारतले नेपालमाथि लिएको गलत नीतिलाई पुस्तकले छर्लङ्ग पारेको धारणा राख्नुभयो ।