कैलालीमा ठूला दलले आज उम्मेदवारी दिँदै, आइतबार स्वतन्त्र र साना दलको मात्रै उम्मेदवारी
वैशाख १२, कैलाली । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन सुरु भए पनि कैलालीका ठूला दलल उम्मेदवारी गराएनन् । उनीहरूले आज उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।
पहिलो दिन कैलालीमा केही साना दल र स्वतन्त्र उम्मेदवारले मात्रै विभिन्न पदमा उम्मेदवारी दिएका छन् । आइतबार कैलालीका पालिकामा दर्ता भएका उम्मेदवारको विवरण यस प्रकार छ :-
धनगढीमा उपमहानगरपालिका
धनगढी उपमहानगरमा आइतबार दुई जना स्वतन्त्र र एक दलबाट गरी ३ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् भने एक जनाले उप मेयरमा उम्मेदवारी दिएका छन् । आइतबार धनगढीमा २२ जनाले वडा अध्यक्ष तथा सदस्यमा पनि उम्मेदवारी दर्ता गराएका छन् ।
धनगढी उपमहानगरपालिकाका निर्वाचन अधिकारी एवं कैलाली जिल्ला न्यायाधीश जयानन्द पनेरुका अनुसार आइतबार लोकतान्त्रिक समाजवादी पार्टीबाट धनगढीको मेयरमा वसन्त विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, व्यवसायी गोपाल हमाल र मदनकृष्ण भट्टले धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
धनगढी उपमहानगरपालिकाको उपमेयरका लागि विवेकशील साझा पार्टीका तर्फबाट विमला ओझाले उम्मेदवारी दर्ता गराएकी छिन् भने प्रभाकर भण्डारीले पनि उपमेयरमै स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए ।
कैलारी गाउँपालिका
कैलारी गाउँपालिकामा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ । कैलारी गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालका अनुसार राप्रपा पार्टीका तर्फबाट अध्यक्षमा होमबहादुर गुरुङ र उपाध्यक्षमा पिङ्कला थारुसहित ९ वटै वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी परेको छ । आइतबार अन्य पार्टीले भने उम्मेदवारी नदिएको उनले बताए ।
गौरीगंगा नगरपालिका
गौरीगंगा नगरपालिकामा मनोनयनको पहिलो दिन दुई जना वडा अध्यक्षले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गौरीगंगाका मुख्य निर्वाचन अधिकृत निराजन पाण्डेका अनुसार आइतबार वडा नम्बर ७ को अध्यक्षका लागि नरबहादुर कामी र वडा नम्बर ९ को अध्यक्षका लागि आषिश सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गोदावरी नगरपालिका
गोदावरी नगरपालिकामा आइतबार दुई जना वडा अध्यक्षले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । गोदावरी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीका अनुसार नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट वडा नम्बर ८ को अध्यक्षका लगि बाबुराम चौधरीले टिमसहित उम्मेदवारी दिएका छन् । यसैगरी वडा नम्बर १ को अध्यक्षका लागि कृतबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
घोडाघोडी नगरपालिका
घोडाघोडी नगरपालिकामा मनोनयनको पहिलो दिन दुई मेयर, एक उपमेयर आठ वडा अध्यक्ष र आठ वडा सदस्य गरी १९ जनाले उम्मेदवारी दिएका छन् ।
घोडाघोडी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत भानुदेव जोशीका अनुसार नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट मनोज लुहारले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी नागरिक उन्मिुक्ति पार्टीका तर्फबाट मेयरमा प्रेम चौधरी र उपमेयरमा कलौटी देवी चौधरीले उम्मेदवारी दिएका छन् । घोडाघोडीका विभिन्न वडामा अध्यक्षका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार वडा नम्बर २, ४, ८, १०, ११ र १२ मा वडा अध्यक्षका लागि उम्मेदवारी परेको छ । त्यसैगरी वडा नम्बर ७, ८, ११ र १२ का लागि आठ जना वडा सदस्यले पनि उम्मेदारी दिएका छन् ।
चुरे गाउँपालिका
चुरे गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत राइभान कुञ्जेडाका अनुसार सो गाउँपालिकामा आइतबार कसैको पनि उम्मेदवारी परेको छैन ।
जानकी गाउँपालिका
जानकी गाउपालिकामा नेपाल दलित पार्टीका तर्फबाट एक र नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक गरी दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी नेमकिपाको तर्फबाट सो पालिकामा उपाध्यक्ष पदमा पनि उम्मेदवारी परेको छ भने नेमकिपाकै तर्फबाट वडा नम्बर २ र ४ मा १-१ जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
जोशीपुर गाउँपालिका
जोशीपुर गाउँपलिकामा राप्रपाले अध्यक्ष, उपाध्यक्ष सहित सवै वडा अध्यक्षमा उम्मेदवारी दिएको छ । अन्य पार्टीबाट भने आइतबार उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत शिवराज भट्टले बताए ।
टिकापुर नगरपालिका
टिकापुर नगरपालिकामा स्वतन्त्रसहित दुई जनाले मेयरमा र दुई जनाले उप मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । टिकापुर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मेयरमा रामलाल डगौरा थारु र उप मेयरमा उल्का देवी बिकले उम्मेदवारी दर्ता गराएका छन् । सोही पार्टीबाट वडा नम्बर १ देखि ९ को वडा अध्यक्ष र सदस्यमा पनि उम्मेदवारी परेको निर्वाचन अधिकृत खड्काले बताए ।
टिकापुर नगरपालिकाको मेयरमै लोकबहादुर बुढा क्षेत्रीले मेयर र मायादेवी जैशीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर १ को अध्यक्षका लागि पनि एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
यसैगरी, नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट एक जना वडा अध्यक्ष र तीन जना वडा सदस्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
बर्दगोरिया गाउँपालिका
बर्दगोरिया गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष, उपाध्यक्ष सहित ६ वटै वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका छन् । यसैगरी दुई जनाले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बर्दगोरिया गाउँपाकिलाका प्रमुख निर्वाचन अधिकृत बद्रिबहादुर पाठकका अनुसार आइतबार नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्षमा भजनलाल डगौरा र उपाध्यक्षमा शारदा मल्लले उम्मेदवारी दिएका छन् । नागरिक उन्मिुक्ति पार्टीले आइतबारनै ६ वटै वडा अध्यक्ष र सदस्यमा पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत पाठकले बताए ।
यसैगरी, बर्दागोरिया गाउँपालिकामा राप्रपाबाट अध्यक्षमा नवीन जोशी र उपाध्यक्षमा कर्मदेवी सिंहसहित ६ वटै वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका छन् ।
बर्दगोरिया गाउँपालिका–१ को अध्यक्षमा दुई जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत पाठकले बताए ।