सरकार र सङ्घीय समावेशी गठबन्धनबीच वार्ता
सरकार र तराईमा आन्दोलनरत सङ्घीय समावेशी गठबन्धनबीच वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको वार्तामा सरकार र गठबन्धन दुवैले आ–आफ्नो धारणा राख्ने काम भएको र थप गृहकार्य गरी पुनःवार्ता गर्नेगरी टुङ्गिएको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी दिनुभयो । आजको वार्तामा सरकारी पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिन र संवादबाटै समस्याको समाधान निकाल्न गठबन्धनलाई आग्रह गरेको थियो । आफूहरुले सरकारसँग नौबुँदे माग राखेको र ती मागबारे अर्कोपटकको वार्तामा बुँदागत रुपमा छलफल गर्ने सहमति भएको अध्यक्ष झाले जानकारी दिनुभयो । तराईमा दुई प्रदेश हुनुपर्ने, जनसङ्ख्याका आधारमा प्रदेशको सङ्ख्या तय गरिनुपर्ने, निर्वाचन क्षेत्र १०÷१० वर्षमा पुनरावलोकन गरिनुपर्नेलगायत नौबुँदे माग वार्तामा गठबन्धनले प्रस्तुत गरेको थियो । वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो । गठबन्धनका तर्फबाट सङ्घीय सद्भावना पार्टीका अध्यक्ष झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, तराई मधेस अभियानका संयोजक जयप्रसाद गुप्ता हुनुहुन्थ्योे ।