संविधानले जनताका अधिकार सुनिश्चित गरेको छ – नेता आचार्य


???????????????????????????????नेपाली काँग्रेसका नेता एवम् पूर्व कानुन तथा न्यायमन्त्री नरहरि आचार्यले अहिलेको संविधानले सम्पूर्ण जाति तथा समुदायका जनताका अधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ । टोखा नगरपालिकाद्वारा आज आयोजित ‘जनताको संविधान जनताको माझ’ कार्यक्रममा उहाँले तत्कालीन संविधानसभामा दलहरुले प्राप्त गरेको जनादेशका आधारमा राजनीतिक शक्तिका बीच भएको सहमति तथा दस्तावेज भएको र यो परिवर्तनशील रहेको बताउनुभयो । सांसद मीरा ध्वजुले लामो समयदेखि संविधानसभाबाट संविधान जारी गर्ने जनताको चाहना पूरा भएको बताउँदै करिब ९० प्रतिशत जनप्रतिनिधिले जारी गरेको संविधान पूर्णरुपमा लोकतान्त्रिक भएको विचार व्यक्त गर्नुभयो । सांसद पेम्बा लामा र जनकराज जोशीले अहिले मधेसमा भइरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा नरहेको प्रष्ट पार्दै मुलुकमा रहेका सबै जातिका संस्कृतिलाई वर्तमान संविधानले संरक्षण गरेकाले सबै जाति तथा समुहकाबीच एकता र सद्भाव कायम हुनेमा विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा, सर्वदलीय प्रतिनिधिका तर्फबाट मनिराज डङ्गोललगायतले नयाँ संविधानका बारेमा जनतालाई बुझाउन सरकारले ल्याएको सो कार्यक्रमबाट जनता लाभान्वित हुने हुँदा बहस तथा छलफल कार्यक्रम गरिएको बताउनुभयो । स्थानीय जनताले संविधानप्रति राखेका जिज्ञासा तथा चासोका बारेमा नेताले आफ्ना धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?