समवेदना प्रकट गर्दै योगेश भट्टराईले मौन अवधिमा मागे भोट


वैशाख २९, ताप्लेजुङ । मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन्। स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन्।

बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ।

ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए । ‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं। अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाटोबाट झरेर मृत्यु भएको देखिएको छ। थप अनुसन्धान जारी छ,’ प्रमुख कार्कीले भने।

उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने उनको भनाइ छ।

तर, नेकपा एमालेका नेकपा एमालेका सचिव योगेश भट्टराईले भने आफ्ना कार्यकर्तासमेत रहेका कार्कीको अपहरणपछि हत्या गरिएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कार्कीको अपहरणपछि हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्नु पर्ने बताएका छन्।

उनले सोही पोस्टमा नेकपा एमालेका कार्यकर्ताहरूलाई यस घटनाबाट विचलित नहुन सुझाउँदै निर्वाचनमा सहभाागी हुन अपिल गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचनको अघिल्लो दिन भएको हत्या शँकास्पद छ र राजनीतिक पनि रहेको आशांका छ। अपराधी र हत्यारालाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गर्दछु। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको बलियो व्यवस्था मिलाउन माग गर्दछु। नेकपा एमालेका सम्पूर्ण कमरेड तथा मतदाताहरुमा यो घटनाबाट बिचलित नभइ, अपराधीहरुलाई कानुनी कठघरामा उभ्याउने अभियानमा सहभागि बन्दै बैशाख ३० गते मतदान गर्न अनुरोध गर्दछु।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?