गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै
जेठ २, गोरखा । गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि १ मतान्तरले जितेपछि कांग्रेसले पुनःमतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न दिएको छैन्।
भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन्। भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन्। यस्तै, ३ वडा सदस्य एमालेले र १ सदस्य नेपाली कांग्रेसले जितेको छ। वडाको दुई वटा बुथमा गरेर १२९३ मत खसेको थियो।
सर्वदलीय बैठक बस्दै
निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न तयारी गर्दागर्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको छ। अहिले सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए।
‘१ मतान्तरले जितेपछि मतपरिणाम सार्वजनिक गर्नुअघि सर्वदलीय बैठक बसिरहेको छ। केही निर्णय आउला अनि मात्रै के गर्ने भन्न सकिन्छ’, रेग्मीले भने।
मतान्तर आएकाले पुनमतगणनाको सम्भावना नरहेको उनले संकेत गरे। ‘बराबर आएको भए पुनस् गणना या के गर्ने भन्ने हुन्थ्यो। मतान्तर आईसक्यो। जति मतान्तर आएपनि, मतान्तर नै हो। त्यही पनि दलहरुले केही निर्णय गर्नुहोला। उहाँहरुले सहमति जुटाउनु हुन्छ भन्ने नै छ’, उनले भने।