आजबाट साफ च्याम्पियनसिप फुटबल त्रिबेन्द्रममा सुरु हुँदै


saarcएघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) भारतको त्रिबेन्द्रममा बुधबारदेखि सुरु हुँदैछ । उद्घाटन खेल समूह ‘ए’ का दुई टोली नेपाल र श्रीलङ्काबीच हुँदैछ भने सोही समूहमा प्रतियोगिताको सर्वाधिक सफल टोली आयोजक भारत पनि छ । विगतमा श्रीलङ्का नेपालमाथि हाबी भएको टोली हो । दुई टोलीबीच १३ ‘हेड टु हेड म्याच’ भएका छन् जसमा नेपालले दुई जित, छ बराबरी र पाँच हार व्यहोरेको छ । तर पछिल्लो समयमा श्रीलङ्का खस्किएको छ । फिफा बरियतालाई आधार मान्दा श्रीलङ्का दक्षिण एसियाकै कमजोर टोली हो भने नेपालको स्थान केही राम्रो छ । भर्खरै सार्वजनिक भएको बरियतामा नेपाल १९२ तथा श्रीलङ्का १९४ स्थानमा छ । दक्षिण एसियामा अफगानिस्तान र माल्दिभ्ससँग पछि परेको भारत नेपाल र श्रीलङ्काभन्दा धेरै माथि अर्थात १६६ औँ स्थानमा छ ।
पाकिस्तानले प्रतियोगितामा भाग नलिने निर्णय गरेसँगै यो समूहमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । तीन मध्ये दुई टोली सेमिफाइनलमा पुग्ने भएकाले नेपाललाई जम्मा एक जित जरुरी छ । तसर्थ फिफा बरियतामा पनि कम रहेको श्रीलङ्कालाई हाबी हुँदै दोस्रो चरणको स्थान सुरक्षित गर्नुपर्ने हुन्छ । अर्कोतिर भारतलाई पनि पराजित गरेमा या राम्रो गोल अन्तरमा बराबरी खेलेमा पनि नेपालको यात्रा सहज हुनेछ । नेपाल समूह विजेता हुन सकेमा अर्को समूहको उपविजेतासँग सेमिफाइनल भेट पक्का हुनेछ । सो भएको खण्डमा नेपालको फाइनल यात्रा सहज हुन सक्नेछ जहाँ समूह ‘बी’ का टोली अफगानिस्तान, माल्दिभ्स, बङ्गलादेश र भुटानमध्ये एक प्रतिक्षारत हुनेछन् । साफ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । साफ खेल्ने आठ राष्ट्र मध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् जसमा भारत छ पटक तथा अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले एक÷एक पटक जित्नेमा छन् । यता नेपाल पनि पहिलो जितको खोजीमा छ । यसैबीच, नेपाली फुटबल अहिले सर्बाधिक सङ्क्रमणमा छ । खेल मिलेमतो (म्याच फिक्सिङ) र आर्थिक अनियमिततालगायतका बिबादले नेपाली फुटबल अलपत्र छ । भर्खरै राष्ट्रिय फुटबल टोलीका कप्तानको जिम्मेवारी पाएका अनिल गुरुङले प्रतियोगितामा राम्रो नतिजा ल्याएर फुटबलको साख जोगाउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । प्रतियोगिताका लागि प्रस्थान गर्नुअघि उहाँले भन्नुभयो, “यो पटक हामी उत्कृष्ट प्रदर्शन गर्ने कोशिस गर्नेछौं, ताकि फुटबलमार्फत देश खुशी होस् ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?