अमेरिकी सेनाद्वारा अफगानिस्तानमा हवाई आक्रमण


White House Fenceतालिवानहरूले अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको ऐतिहासिक जिल्ला सङ्गीन कब्जा गरेकोले उनीहरूका विरुद्ध अमेरिकी सेनाले हवाई आक्रमण सुरु गरेको छ । तालिवानहरूका विरुद्धमा अमेरिकी सेनाले बिहीबार उक्त जिल्ला र आसपासमा हवाई आक्रमण गरेको समाचारमा जनाइएको छ । सो कुराको जानकारी नेटोले दिएको हो । गत आइतबार राति तालिवान आतङ्ककारीहरूले सो कब्जामा लिएको समाचारमा जनाइएको थियो । रणनीतिक हिसाबले सो जिल्ला महत्वपूर्ण रहेको बताइन्छ । दुई दिनदेखि तालिवान आतङ्ककारी समूह र सुरक्षाबलबीच भएको भीषण झडपपछि आतङ्ककारी समूहले सो जिल्ला कब्जामा लिएको हेलमान्ड प्रान्तका उप गभर्नर मोहमद जान रसुल्यारले बताएका छन् । सो जिल्ला कब्जामा लिएपछि पनि अफगान सैनिक र तालिवान आतङ्ककारी समूहबीच अझै पनि झडप जारी रहेको बताइएको छ । हेलमान्ड प्रान्तलाई नै उनीहरूले खतरामा पार्ने दाबी उनीहरूले गरेका थिए । अफगानिस्तानमा रहेको नेटो सैनिक सङ्गठनका एकजना प्रवक्ताले भने– हालैमात्र सो जिल्ला तालिवानले कब्जामा लिएकोले उनीहरूका विरुद्ध अमेरिकी सैनिकले बुधबार राति दुई वटा हमला गरेको थियो । हेलमान्ड प्रान्तमा केही महिनायता जारी रहेको तालिवान र सुरक्षाबलबीच भएको झडपमा ९० जना सुरक्षा अधिकारीहरूको मृत्यु भएको पनि रसुल्यारले जनाएका छन् । बुधबारको यस आक्रमण नेटोलाई चेतावानी दिनका लागि सो आक्रमण गरेको भन्दै तर यसबाट के कति क्षति भएको छ भन्ने बारेमा भने नेटो सङ्गठन एवम् अफगान सरकारले केही पनि बताएको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?