क्रिप्टोका कारण करोडबाट रोडमा पुग्दै लगानीकर्ता, एकै दिन २२ जनाले गरे आत्महत्या
जेठ ६, काठमाडाैँ । केन्द्रिकृत बैंकको भूमिका अन्त्य गर्ने उद्देश्य सहित सन् १९८० मा क्रिप्टोकरेन्सीको सुरूवात भएको थियो। त्यतिबेला शब्दमा मात्र सिमित यो यो अवधारणाले मूर्त रूप भने सन् २००९ मा लियो-जतिबेला सातोशी नाकामोतो नाम गरेका व्यक्तिले ह्वाइटपेपर सहित ’बिटक्वाइन’ नामक क्रिप्टोकरेन्सी बाहिर ल्याए। उनले जनवरी ३ , २००९ मा पहिलो बिटक्वाइन माइन गरेका थिए।
बिटक्वाइनका निर्माता यी व्यक्तिको नाम जापानीज जस्तो लाग्छ। तर, यी व्यक्ति को हुन्, कहाँ बस्छन् भन्ने विवरण अझै गोप्य नै छ। कसैले पत्ता लगाउन सकेका छैनन्। विभिन्न रिपोर्टहरूमा उल्लेख भए अनुसार सोही नाम गरेका व्यक्तिहरू जापानमा मात्रै करीब १ लाखको हाराहारीमा छन्।
क्रिप्टोकरेन्सीको मूल्य एकै हुँदैन। प्रत्येक सेकेन्डमा मूल्य तलमाथि हुनु यसको स्वभाव हो। तर, पनि कतिपय स्टेबल क्वाइनहरू हुन्छन्, जसले क्रिप्टोकरेन्सी किन्नका लागि सहयोग गर्छन्। तिनीहरूको मूल्य भने लगभग सँधै १ अमेरिकी डलर बराबर हुन्छ।
सन् २००९ मा सुरू भएको बिटक्वाइनको मूल्य २०११ को फेब्रुअरीमा १.०६ अमेरिकी डलरसम्म पुगेको थियो। त्यसपछि पुनः झरेर यसको मूल्य ०.८७ डलरमा पुग्यो। तर, सोही वर्षको अप्रिल सुरूदेखि मेको अन्तिमसम्म बिटक्वाइनको मूल्य ८.८९ अमेरिकी डलर पुग्यो।
उक्त समयमा निरन्तर मूल्य बढिरहेको यसको भाउ तेब्बरले बढ्न १ हप्ता पनि लागेन। २०११ जुन १ मा २७ डलरमा बिटक्वाइन कारोबार भएको थियो। त्यसपछि निरन्तर बढ्ने घट्ने गरिरहेको बिट्क्वाइन अहिले करीब ३० हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ। बिटक्वाइन गत वर्षको नोभेम्बर महिनामा ७९ हजार डलरसम्म कारोबार भएको थियो।
इन्भेस्टोपिडियाको रिपोर्ट अनुसार बिटक्वाइनले सुरू गरेको क्रिप्टो बजारमा अहिलेसम्म १८ हजार भन्दा बढी क्रिप्टोकरेन्सी विकास भइसकेका छन्। तिनिहरूको मूल्य र प्रयोजन फरक-फरक छ। सम्रगमा बिटक्वाइन सबैभन्दा चर्चित क्रिप्टोकरेन्सी हो भने इथेरियम, सोलाना, लिटक्वाइन, शिवा इनु, डजक्वाइन र कारडानो लगायत अरू हजारौँ क्रिप्टोकरेन्सीको कारोबार भइरहेको छ।
क्रिप्टोकरेन्सी वैध हो वा अवैध भन्ने विषय अहिले वहसको विषय बनेको छ। कतिपय देशले बिटक्वाइन लगायत अन्य क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको रूपमा स्वीकारिसकेका छन्। त्यसमध्ये एक नाम एल साल्भाडोर हो। त्यहाँको सरकारले बिटक्वाइन कारोबार गर्नुलाई कानुनी मान्यता दिएको छ भने सरकार आँफैले पनि ठूलो रकम खर्च गरेर बिटक्वाइन किनिरहेको छ।
एल साल्भाडोरले कानुनी रूपमै बिटक्याइनलाई स्वीकारेता पनि विश्वका कतिपय देशले कारोबारलाई कानुनी प्रावधानमा समेटेका छैनन्। तर, पनि कारोबार गरेबापत निश्चित कर भने उठाइरहेका छन्। त्यस्ता देशको उदाहरण जापान, अमेरिका, नर्वे र कोरिया लगायत हुन्। त्यसैगरी, हाम्रो छिमेकी मुलुक भारतमा पनि अहिलेको बजेटमा क्रिप्टोकरेन्सीलाई समेटिएको छ। त्यहाँ अब क्रिप्टोकरेन्सी कारोबार गरेबापत २५ प्रतिशत कर तिर्नुपर्नेछ। तर, भारतमा पनि क्रिप्टो करेन्सीलाइ डिजिटल मुद्राको रूपमा भने स्विकारिएको छैन।
क्रिप्टोकरेन्सीको कारोबारबाट मानिसहरू रातारात धनी भएको र एक रातमै भएभरको सम्पत्ति सक्किएर सडकमा पुगेका घटनाहरू पनि छन्।
पछिल्लो पटक ’लुना’ नामक क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो गिरावट देखिएको छ। ८६ डलरमा कारोबार भइरहेको उक्त क्रिप्टोको भाउ अहिले ०.०००१ डलर रहेको छ। लुनाको स्टेबल क्वाइनमा देखिएको खराबीका कारण यसको भाउ निरन्तर ओरालो लागेर ४८ घण्टाको अवधिमा नै लगभग अन्तको अवस्थामा पुग्यो।
यही क्वाइनमा लगानी गरेका २२ जनाले एक दिनमा नै आत्महत्या गरेका छन्। लाखौँ डलर लगानी गरेका उनीहरूको सम्पत्ति शुन्यमा परिणत भएपछि उनीहरूले आत्महत्याको बाटो रोजे। यो नै क्रिप्टो करेन्सीको सबैभन्दा खराब पक्ष हो। कुन दिन लगानी कर्ताको सम्पत्ति स्वाहा हुन्छ कसैलाई पत्तो हुँदैन। कुनै ठाउँबाट निर्देशित नहुने भएका कारण सम्पत्तिको जिम्मा पनि कसैले लिँदैन।
लुनाको मूल्य उच्च हुँदा करीब २० लाख डलर लगानी गरेका मानिसहरूको अहिले लुना बेच्दा जम्मा ५० अमेरिकी डलर मात्रै आउने अवस्था छ। यो अवस्था सहन नसकेर नै २२ जनाले मृत्यु रोज्न बाध्य भए।
नेपाल सरकारले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित गरेक छ। राष्ट्र बैंकले समय सयमा चेतावनी पूर्ण सुचनाहरू प्रकाशित गर्दै यसमा नलाग्न आह्वान गरिरहेको छ। तर, नेपालमा यसका कारोबारीहरू भने बढ्दै गएका छन्।
नेपाल प्रहरीले अहिलेसम्म १ दर्जनभन्दा बढी व्यक्तिहरूलाई अवैध क्रिप्टोको कारोबार गरेको आरोपमा पक्राउ गरिसकेको छ। पक्राउ परेका व्यक्तिहरूबाट १ अर्ब भन्दा बढी बराबर रकम क्रिप्टो बजारमा गएको तथ्यहरू छन्।
नेपाल प्रहरी, राष्ट्र बैंक र साइबर ब्युरोले सुक्ष्म रूपमा क्रिप्टोकरेन्सीको धन्दामा लाग्ने व्यक्तिहरूको अनुसन्धान गरिरहेको बताएको छ। तथापि यसमा लगानी गर्नेहरूको संख्या भने अझै यकिन हुन सकेको छैन।
क्रिप्टोकरेन्सी होल्डरहरूको विवरण राख्ने साइट Triple-a.io मा प्रकाशित रिपोर्ट अनुसार २ लाख २३ हजार ८४० जना नेपालीहरूले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन्। यसको मतलब नेपालको जनसंख्या मध्ये १.४५ प्रतिशतले लुकिछिपी क्रिप्टोमा लगानी गरेका छन्।
उक्त साइटमा यो तथ्यांक भएता पनि क्रिप्टोमा लगानी गर्ने नेपालीहरूको पूर्ण विवरण भने खुलाइएको छैन। यसै विषयमा थप अनुसन्धान भइरहेको नेपाल राष्ट्र बैंकले केही समयअघि सुचना नै जारी गरेर जानकारी दिइसकेको छ।