कला क्षेत्रमा दुर्गन्ध : पर्दा पछाडी याैन दुर्व्यवहारको शिकार बन्दै महिला
जेठ ७, काठमाडाैँ । नेपालजस्ता विकासोन्मुख तथा गरिब मुलुकहरूमा यौन शोषणका घटनाहरू दैनिक दर्जनौँको संख्यामा घटिरहेका हुन्छन्। अझ त्यसमाथि पनि कानुनी कार्यान्वयन फितलो भएको मुलुकहरूमा यस्ता घटना घट्दै जानुको साटो बढिरहेको देखिन्छ।
विकासोन्मुख देशहरूमा कानुनको पूर्ण रूपमा पालना नहुँदा महिलाहरू दिनप्रति दिन यौन शोषणको सिकार भइरहेका हुन्छन्। त्यस्तै, यौन जस्तो संवेदनशील विषयमा कुरा गर्न समेत डराउने अवस्था भएको नेपाल जस्तो देशमा महिलाहरू दुव्र्यवहारबारे खुलेर रिपोर्ट गर्नै सक्दैनन्। पछिल्लो नेपालको अवस्थाले पनि त्यही देखाउँछ।
विशेषतः नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने पीडित महिला नै समाजबाट तिरष्कृत हुनु पर्ने अवस्थाले यस्ता घटनामा झन विकराल रूप लिन्छ। न्यायका लागि गुहार गरेकाहरूले न्यायको सट्टा तिरष्कारको समना गर्नु परेपछि न महिलाहरू खुलेर दुव्र्यवहारमा परेको रिपोर्ट गर्न सक्छन्, न त दोषीले कानुनी कारबाहीको सामना नै गर्छन्। दण्डहीनताको अवस्थाले दुव्र्यवहार गर्नेको मनोबल थप बढ्दै जाने अवस्था आउँछ।
पछिल्लो समय नेपाली कलाक्षेत्रमा भएका यौन दुव्र्यवहारका घटनाहरू सार्वजनिक भइरहेका छन्। गत वर्षको फागुनमा नाबालिग गायिकामाथि पटक पटक बलात्कार भएको घटना सार्वजनिक भयो।
घटनामा आरोपित थिए, नेपालका चर्चित मध्येका एक अभिनेता पल शाह। सयौँ नेपाली म्युजिक भिडियोमा खेलिसकेका उनी फिल्म लाइन तिर पनि विस्तारै देखिन थालेका छन्। उनको पछिल्लो फिल्म ’म यस्तो गीत गाउँछु–२’ फागुन १३ गतेबाट देशभर रिलिज भयो।
उनीमाथि बलात्कारको आरोप लाग्दा उनको बचाउँमा ठूलै जमात लागि पर्यो। सामाजिक सञ्जालमा भाइरल भएका पुण्य गौतम सहितको टोली त जिल्ला प्रहरी कार्यालय तनहुँ मै पुगेर अनुसन्धान नै प्रभावित पार्नेगरी प्रदर्शनमा उत्रियो।
त्यस्तै, पल शाहको पछिल्लो फिल्ममा अभिनय गरेकी पूजा शर्माले पनि आरोपितको पक्ष नै लिएकी थिइन्। पल शाहले प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेको दिन दुःखी भएको ’इमोजी’ सामाजिक सञ्जालमा पोस्ट गरेकी नायिकाले बालिकाले बयान फेरेको दिन ’थ्यांक यू गड’ भन्दै पोस्ट गरिन्।
अहिले पल शाहलाई पूपक्षका लागि थुनामा राखेर थप अनुसन्धानको काम भइरहेको छ।
उक्त घटना सार्वजनिक भएको केही महिना नपुग्दै अहिले अर्को एउटा यौन शोषणको घटना सार्वजनिक भएको छ। पीडित सुस्मिता रेग्मीले टिकटकमार्फत सिरिज नै बनाएर आँफुमाथि भएको दुव्र्यवहारको बारेमा सम्पूर्ण कुराहरू खुलाएकी छिन्।
उक्त घटनामा २००२ की मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको छ।
बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउटबाट एक युवतीले आफु बलात्कारको सिकार भएको जानकारी दिइन्। २–२ मिनेटका २० वटा भिडियोमा उनले कहिले? कसरी? बलात्कृत भइन् त्योबारे जानकारी दिएकी थिइन्।
आफू बलात्कृत भएकोबारे उनले सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बालाई समेत जानकारी दिएकी थिइन्। तर, उनले उल्टै भनिदिएछन्, ‘ग्ल्यामसर क्षेत्रमा यो त नर्मल हो।’
२०७१ सालमा आयोजना गरिएको मिस ग्लोबल नामक ब्यूटी प्याजेन्टका क्रममा ति युवतीमाथि बलात्कार भएको थियो। उनले आफूलाई बलात्कार गर्ने र सहयोग गर्नेहरूको थर मात्र खुलाएकी छिन्। जसमा एक जना फोटो पत्रकार र कन्सल्टेन्सी सञ्चालक रहेको बताएकी छिन्।
रेग्मी थर गरेकी एक युवती १२ कक्षाको परीक्षा सकिएपछि ‘ब्युटि प्याजेन्ट’ मा सहभागी भइन्। उनले अडिसन दिइन्। तर, अडिसनबाट उनी छनोटमा पर्न सकिनन्। छनोटमा नपरे पनि त्यहाँ भएका तस्बिरहरू बाहिर आएपछि कुनै व्यक्तिबाट उनलाई म्यासेज आयो।
‘तिमी आउ फोटोसूट गरौं, अनि मोडल बनाउँछौं’ भनेर म्यासेज आयो। त्यति म्यासेज आएपछि उनी निकै उत्साहित भइन्। उनले टिकटक भिडियोमा बताए अनुसार, त्यसरी म्यासेज पठाउनेमा थिए, ति फोटोपत्रकार।
तर, पत्रकारले भने बिहीबार नै सामाजिक सञ्जालमार्फत आँफु त्यहाँ फोटो खिच्न मात्रै गएको बताउँदै उक्त काममा संलग्न नभएको र आवश्यक परेको खण्डमा सहयोग गर्ने बताएका छन्।
माल्भिकाले मागिन् माफी
आँफु बलात्कार भएको घटना महिलाको पक्षमा वकालत गर्दै आएकी माल्भिका सुब्बालाई सुनाउँदा उनले वास्ता नै नगरेको भन्ने पीडितको दाबी पछि सुब्बाले समर्थक र पीडितसमक्ष माफी मागेकी छिन्। उनले बिहीबार इन्टाग्राममार्फत त्यतिबेला सहयोग गर्न नसकेकोमा क्षमा माग्दै अहिले जस्तो सहयोग गर्न पनि तयार रहेको बताएकी छिन्।
सामाजिक सञ्जालमा सुब्बाले पीडितलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘म माफी माग्न चाहान्छु, मलाई राम्रोसँग याद छैन, उनीमाथि भएको के थियो भनेर तर मलाई याद छ तिमीले मलाई फोन गरेकी थियौ र कुरा गर्न खोजेकी थियौ तर त्यो समयमा तिमीलाई सहयोग गर्न सकिन। जुन समयमा तिमीलाई मेरो आवश्यक्ता थियो।’
तर, समर्थक तथा अधिकारकर्मीहरू भने सामाजिक सञ्जालमा माफी माग्दैमा उनले गरेको उक्त कार्य क्षमायोग्य नभएको बताउँदै महिला अधिकारकर्मी भएर पनि महिला नै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।
माल्भिकाको पक्षमा खुले यी अभिनेत्री
बुधबार घटना सार्वजनिक भएपछि सेलिब्रेटीहरू पीडितको पक्ष र माल्भिका सुब्बाको पक्षमा खुलेका छन्। उनीहरूले पीडितलाई न्यायको माग गर्दै यस घटनामा माल्भिका सुब्बामात्रै दोषी नभएको बताएका छन्।
यसरी उनको पक्षमा खुल्नेहरूमा नायिका प्रियंका कार्की, श्रृंखला खतिवडा, पूर्व मिस नेपाल जेनिशा मोक्तान, पूर्व मिस नेपाल सीताश्मा चन्द लगायत छन्।
पूर्व मिस नेपाल शृंखला खतिवडाले माल्भिकालाई दोष दिएर दोषीलाई भुल्न नहुने बताएकी छन्। त्यसैगरी, अर्की पूर्व मिस नेपाल जेनिशा मोक्तानले माल्भिकाको पक्षमा खुलेर बोल्दै माल्भिकाले सँधै आफ्नो स्ट्यान्डर्ड सेट गरेको र उनीबाट ठूलो अपेक्षा भएको बताएकी छिन्। उनले पीडितलाई कारबाहीको माग गरेकी छिन्।
अर्की अभिनेत्री प्रियंका कार्की पनि माल्भिकाको पक्षमा खुलेकी छिन्। अहिले उनको सामाजिक सञ्जालमा लेखिएको स्टाटसलाई लिएर आलोचना पनि भइरहेको छ। उनले माल्भिकामाथि धेरै आशा भएका कारण अहिले घृणा पनि आइरहेको बताएकी छिन्। उनले गल्ति गरेता पनि माफी मागेको भन्दै महिलाहरूको पक्षमा बोलिरहेका कारण प्रशंसा गरेकी छिन्।
पीडितमाथि नै दोष !
गत वर्ष जबरजस्ती करणीमा परेको भन्दै उजुरी दिएकी नाबालिकालाई आफुले ख्याल नगरेको भन्दै दोष लगाउनेको जमात ठूलो थियो। उनीहरूले करणी भएको समयमा नै उजुरी नदिएको भन्दै बालिकामाथि नै दोष देखाएका थिए।
अहिले पीडित युवतीले गरेका पोस्टहरूमा त्यस्ता खालका धेरै कमेन्टहरू देख्न सकिन्छ। यसरी ठूलो हिम्मत गरेर बोल्ने पीडितमाथि नै दोष लगाउने परिपाटीले शोषणमा परेका महिलाहरू बोल्न नसक्ने अवस्थामा पुगिरहेका छन्।
संसदमा गगन थापाले उठाए मुद्दा, अनुसन्धान गर्न सभामुख सापकोटाको रूलिङ !
कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९–०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुने क्रममा उनले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन्।
’हिजो घर फर्कंदै गर्दा श्रीमती र दुईजना ससाना छोरीहरु सामाजिक संजालमा आएको एक नौजवान युवतीको भिडियो जसमा आठ वर्षअघि आफुलाई बलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको उसको प्रतिक्रिया उनिहरुको अनुहारमा परेको, छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु। सम्माननिय सभामुख मार्फत यत्रो विषय सार्वजनिक भइसके पछाडि तत्कालै अनुसन्धानको दायरामा ल्याउनका निम्ति हार्दिक आग्रह चाहन्छु। साथै यसै संसदबाट बनाएको बलात्कारसम्बन्धी कानून, हाम्रो फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन पनि माग गर्दछु।’ थापाले संसद्मा भने।
गगन थापाले विषय उठान गरेपछि सभामुख सापकोटाले यस विषयमा अनुसन्धान गर्न निर्देशन दिँदै भने, ’‘माननीयज्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु।’
न्यायको माग गर्दै बालुवाटारमा प्रदर्शन
बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन्। सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन्।
सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन्।
पीडितको घरमा पुग्यो प्रहरीको टोली, छानबिनका लागि समिति गठन
पीडितले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषयमा सडकदेखि संसदसम्म पुगेपछि प्रहरीको टोली पीडित महिलाको घरमा पुगेको छ। यो सामग्री तयार पार्दासम्म शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक, परामर्शदाता लगायत पीडितलाई भेट्न पुगेका हुन्।
पीडितको अवस्थाबारे बुझ्न, भिक्टिम सपोर्ट गर्न हाम्रो टोली त्यहाँ पुगेको प्रहरीले बताएको छ।
बलात्कारसम्बन्धी एउटा घटनाको छानबिनका लागि समिति गठन गरिएको छ।
आठ वर्षअघि २०७१ को अन्त्यतिर भएको बलात्कारसम्बन्धी घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इन्स्पेक्टर सपना खड्का सदस्य छन्।