अष्ट्रेलियामा भएका दुई छुट्टै घटनामा पानीमा डुबेर दुई नेपालीको मृत्यु
यतिबेला क्रिसमस र छुट्टीको चहलपहल छ अष्ट्रेलियामा । वर्षभरि काम गरेर यतिबेला परिवारसहित कतै घुम्न जाने गर्दछन् अष्ट्रेलियनहरु । यही मेसोमा नेपाली समूदायका सदस्यहरु पनि विभिन्न ठाउँमा पुगिरहेका छन् । तर, सावधानी अपनाउन नसक्दा वर्षेनी विभिन्न दुर्घटनामा मानिसहरुको ज्यान पनि गइरहेको छ । यसैक्रममा यसै सातामात्रै २ नेपालीले पानीमा डुबेर आफ्नो ज्यान गुमाएका छन् । सिड्नीको हर्सभिलमा बसोबास गर्ने ४५ वर्षीय पूर्ण बोहरा र ब्रिसबेन निवासी २२ वर्षीय अनिस क्षेत्री (धन) को निधन भएको हो ।
सिड्नीमा नेपाली समूदायमाझ सक्रिय रहेका पूर्णबहादुर बोहोराको निधनको खबरले यतिबेला स्तब्धता छाएको छ । बोहरा परिवारका साथ बिदा मनाउन न्यू साउथवेल्सको नोर्वामा पुगेका थिए । परिवारसँगै खेलामा पौडी खेल्दै गरेको बेला दुर्घटना भएको थियो । तत्कालै आपतकालीन सेवालाई उद्धारका लागि बोलाउँदा ढिला भइसकेको थियो । उनी प्रवासी नेपाली मञ्चका सदस्य थिए । अहिले उनको शवलाई शोलाभेन डिष्ट्रिक मेमोरियल अस्पताल नोर्वामा राखिएको छ भने पोष्टमार्टमपछि परिवारले दिइने प्रहरीले जनाएको छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष विनोद श्रेष्ठले संस्थाका क्रियाशील सदस्यको दुखद निधनले स्तब्ध बनेको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने परिवारका एकमात्र आम्दानीको श्रोत उनी नै रहेको भन्दै अन्त्यष्टीका लागि सहयोग गर्न अपिल गरेको छ । उनको एक छोरा र एक छोरीका साथै श्रीमती छन् ।
अनिसको डुबेर मृत्यु
२२ वर्षीय अनिस आफ्ना चार साथीका साथ घुम्न निस्किएका थिए । टाउन्सभिलको उत्तरमा रहेको पलुमा नजिक रहेको एक रिक्रियशनमा रमाइलो गरेर उनीहरु त्यसतर्फ लागेका थिए । गत बिहीबार उनीहरु लिट्टील क्रिष्टल क्रिकमा रहेको एक झरनामा पुगेका थिए । उनी पौडी खेल्न नआउने भएका कारण गाडीमै बसे र अन्य ४ जना साथीहरु पौडी खेल्न गए । तर, जब साथीहरु पौडी खेलेर फर्किए तब अनिसलाई देखेनन् । तत्काली खोजी गर्दा उनले लगाएकै जस्तो टिसर्ट पानीमुनी देखियो । तत्कालै आपतकालीन सेवाहरुलाई खबर गर्दा उनको उद्धारमा ढिला भइसकेको थियो । यतिबेला बिहीबार दिउँसोको ३ः३० बजेको थियो । उद्धारका लागि पुगेको एम्बुलेन्सका प्रवक्ताले बताए अनुसार शव पानीमुनी डुबेको अवस्थामा थियो । सँगै गएका एक साथी एमएनटीभीसँग भन्छन्, ऊ पौडी खेल्न आउँदैन भनेर गाडीमै बसेको मान्छे कसरी त्यहाँ पुग्यो र डुब्यो थाहै भएन । उनी आफैं पौडी खेल्न गएका थिए अथवा चिप्लिएर खसेका हुन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । क्वसल्याण्डको आपतकालीन सेवाका सिनियर सर्जेन्ट स्कट स्पेन्सका अनुसार दुर्घटनाको प्रत्यक्षदर्शी कोही पनि नभएका कारण अनुसन्धान थप जटिल बनेको छ । प्रहरीले घटनामा संदिग्ध कुराहरु केही नभएको जनाएको छ । साथीहरुसँग क्रिशमश ईभ मनाउने योजना एउटा दुःखद अन्त्यमा परिणत भयो । अनिस संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी मार्फत शरणार्थीको रुपमा नेपालबाट अष्ट्रेलिया आइपुगेका थिए ।